खेलकूद

नेपाली महिला भलिबलमा न्यु डायमण्ड स्पोर्टस् एकेडेमी छुटाउनै नहुने नाम (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १३ गते १६:२३
नेपाली महिला भलिबलमा न्यु डायमण्ड स्पोर्टस् एकेडेमी छुटाउनै नहुने नाम (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०८० काठमाडौं । नेपाली महिला भलिबलमा न्यु डायमण्ड स्पोर्टस् एकेडेमी छुटाउनै नहुने नाम हो ।

ग्रासरुट तहबाटै खेलाडी उत्पादन गर्दै घरेलु भलिबलमा विरासत जमाएको यो क्लबका थुप्रै खेलाडीले राष्ट्रिय टोलीमा समेत महत्वपूर्ण स्थान बनाइसकेका छन् । तर पनि क्लबका संस्थापक समेत रहेका प्रशिक्षक कुमार राई युवा खेलाडी तयार पार्न निरन्तर लागिरहेका छन् ।

न्यु डायमण्ड स्पोर्टस् एकेडेमी महिला भलिबलमा गर्विलो इतिहास बोकेको क्लब हो । १ दशकभन्दा बढी समयदेखि महिला भलिबलमा स्तरिय खेलाडी उत्पादन गर्दै आएको यो क्लबले घरेलु भलिबलमा आफ्नो छुट्टै स्थान बनाइसकेको छ । त्यसैले न्यु डायमण्ड र यसका संस्थापक तथा प्रशिक्षक कुमार राई बिना नेपालमा महिला भलिबलको चर्चाले पूर्णता पाउँदैन ।

राईले आफ्नो प्रशिक्षणमा महिला भलिबललाई तीन दर्जनभन्दा बढी खेलाडी दिइसकेका छन । राष्ट्रिय टोलीमा न्यु डायमण्डका खेलाडीले स्थान मात्र बनाएनन् नेपालको जीतमा महत्वपूर्ण योगदान समेत दिएका छन् । राई अहिले पनि दैनिक युवा खेलाडीलाई प्रशिक्षण गराउन र उनीहरुलाई तिखार्न निरन्तर लागिरहेका छन ।

डेढ दशकमा न्यु डायमण्ड महिला भलिबलमा सफलता र चर्चाको शिखरमा छ । राष्ट्रिय टोलीबाट खेलिसकेका र खेलिरहेका रेश्मा भण्डारी, रमिला तण्डुकार, प्रतिभा माली, कृपा अधिकारी, सलिना श्रेठ, झरना श्रेष्ठ, ललिता नाथ लगायतका थुप्रै खेलाडी राईकै मार्गदर्शनमा खारिएका खेलाडी हुन् ।

अहिले पनि सुमित्रा रेग्मी, सलिना बुढामगर, वाल्मिका आचार्य, रिमा कुँवर, प्रगति नाथ र एन्जिला प्रधान लगायत खेलाडीले राष्ट्रिय टोलीको ढोका ढकढकाउन थालिसकेका छन् । सुमित्रा र सलिना अबको टोलीमा आउने सक्ने सम्भावित खेलाडी हुन् । जो डेढ( २ वर्षदेखि निरन्तर राईकै प्रशिक्षणमा आफुलाई निखारिरहेका छन् ।

सुरुमा छोरीलाई खेल्न लगाएर बिगारे भन्दै कुरा काट्नेहरु पनि अहिले राईलाई आफ्ना सन्तालाई पनि खेलाउन आग्रह गर्ने भएका छन् । उनी पनि सम्भव भएसम्मका खेलाडी तयार पार्ने लक्ष्यमा छन् । अब देशमा मात्र नभई देश बाहिरका प्रतियोगितामा समेत आफ्ना खेलाडीलाई सफल बनाउन केन्द्रित छन् ।

यसै पनि न्युन लगानी र पूर्वाधारको अभाव झेलेको खेल क्षेत्र, त्यसमा पनि भलिबल आर्थिक रुपमा निकै पछाडि छ । राष्ट्रिय खेल घोषणा भए पनि सरकारबाट यसले अपेक्षाकृत साथ सहयोग पाउन सकेको छैन् । यस्तोमा निजी स्तरबाट खेलाडी उत्पादन र राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउनु चानचुने कुरा होइन । तर यि तमाम चुनौती पन्छाउँदै राई आफ्नो लक्ष्यमा केन्द्रित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्