जुगल–५ आरोहण गरेकी सज्जाले सगरमाथाको चुचुरोमा गीत गाउने (भिडियो रिपोर्टसहित)

१३ कात्तिक २०८० काठमाडौं । गायिका सज्जा चौलागाईँले आगामी वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा गीत गाएर विश्व कीर्तिमान कायम गर्नु हुने भएको छ ।
पहिलोपटक सिन्धुपाल्चोकको जुगल–५ हिमाल आरोहण गरेर फर्किएकी गायिका चौलागाईंसहितको टोलीको सम्मानमा गोकर्णेश्वर नगरपालिका–८ का बासिन्दाले गरेको सम्मान कार्यक्रममा उहाँले यो जानकारी दिनु भएको हो ।
विश्वको सर्वोच्च शिखर २१ पटक आरोहण गरिसकेका पेम्बा दोर्जे शेर्पा नेतृत्वको टोलीले पहिलोपटक जुगल–५ हिमाल मंगलबार आरोहण गरेको हो । सरकारले २०७९ चैतमा जुगल हिमश्रृङ्खला आरोहणका लागि खुला गरेको थियो ।
नयाँ हिमाल आरोहणका लागि खुला भएकाले यसको प्रचार प्रसार गरेर पर्यटन प्रवद्र्धन गर्न आफूहरुले यो हिमाल आरोहण गरेको पेम्बा दोर्जे शेर्पाले बताउनुभयो ।
सगरमाथाको चुचुरोमा गीत गाएर विश्व कीर्तिमानको तयारीमा रहेकी चौलागाईँले आफ्ना लागि हिमाल आरोहण नयाँ भएकाले सबैको साथसहयोगको अपेक्षा गरेको बताउनुभयो ।
यसअघि सगरमाथाको चुचुरोमा गीत गाएर पुरुषतर्फको कीर्तिमान चर्चित गायक राजु लामाले कायम गर्नु भएको छ ।
हिमालको प्रचारबाट पर्यटन प्रवर्धन गर्न सकिने भएकाले आफूले यसका लागि पहल गरेको सगरमाथा आरोही श्रीबहादुर तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया