खेलकूद

विश्वकप क्रिकेट एसिया छनोटमा नेपालको विजयी शुरुवात

हिमालय टिभी
२०८० कार्तिक १३ गते १३:०४
विश्वकप क्रिकेट एसिया छनोटमा नेपालको विजयी शुरुवात

१३ कात्तिक २०८० काठमाडौं । ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसिया छनोटमा नेपालले विजय सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलब ३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा कुशल भुर्तेलले ७४ र आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर रोहन रंगराजनले ४६, आर्यवीर चौधरीले ३७ र मनप्रित सिंहले २४ रनको योगदान दिए।

नेपालका अविनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई दुई विकेट लिए । एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

कात्तिक १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने ट्वेन्टी(ट्वेन्टी विश्वकपमा छनोट हुने छन् ।

आयोजक नेपाल रहेको समूह ‘ए’मा ओमान, मलेसिया र सिंगापुर पनि छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुवेत र हङकङ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्