अरु क्षेत्रीय संगठन सक्रिय बन्दा सार्कको गतिविधि सेलाउँदै (भिडियो रिपोर्टसहित)
१२ कात्तिक २०८० काठमाडौं । क्षेत्रीय बजारको विस्तार र सम्भावनाको ढोका खोल्ने उद्देश्यका साथ गठन भएको दक्षिण एसीयाली क्षेत्रिय सहयोग संगठन ९सार्क० अहिले मृत प्रायः छ । ९ वर्ष वितिसक्दा कुनै किसिमका सार्क गतिविधि नै हुनसकेकै छैन ।
अहिले नाममात्रका लागि भएपनि १५औँ महासचिवका लागि बंगलादेशी कुटनीतिज्ञ गोलम सरवरले काम सुरु गरेका छन् । सार्क व्यवहारिकरुपमा बन्द जस्तो बन्नुमा मुख्य दोषी भारत रहेको छ । भारत अहिले सार्कभन्दा पनि व्रिक्स, सांघाई कोअपरेशन, जी २०, विमस्टेक जस्ता संरचनामा आकर्षित बनेको छ । जसले सार्क उल्झनमा परेको छ ।
३८ वर्षको इतिहास बोकेको ८ सदस्यीय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क अहिले धुकधुकीमा मात्र रहेको छ । हालै बंगलादेशका कुटनीतिक गोलम सरवरले सार्कको १५औँ महासचिवको जिम्मेवारी सम्हालेपछि धुकधुकी मात्र रहेको भनिएको हो । ३ वर्षको कार्यकाल रहने महासचिव सदस्य राष्ट्रको वर्णानुक्रमअनुसार तोकिने गरेको छ । यसअघि श्रीलंकाका कुटनीतिज्ञ इशाला रुवान विराकुन १४औँ महासचिव हुनुहुन्थ्यो ।
श्रीलंकको पालोपछि सार्कमा पछि थपिएको अफगानिस्तानले १५औँ महासचिव पाउनुपर्नेथियो । यो अफगानिस्तानका लागि पहिलो अबसर थियो तर, अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि बाँकी सार्क सदस्य राष्ट्रहरुले उसलाई मान्यता दिएनन् र अफगानिस्तानको प्रतिनिधित्व गराइएन । भलै सार्क महासचिव तोक्न नछोडेपनि भारत–पाकिस्तानको द्वन्द्वको छाया सार्कमा सधैं पर्ने गरेछ ।
अनिश्चित शिखर सम्मेलन
१८औँ शिखर सम्मेलन २०७१ मंसिरमा काठमाडौंमा भएपछि १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा हुने तय भएको थियो । तर, भारतको उरीमा भएको हमलापछि पाकिस्तानसँगको टकराव बढ्यो । भारत पाकिस्तानमा सम्मेलन गराउन अनिच्छुक रहँदै आयो ।
अहिलेसम्म पनि सम्मेलनका लागि भारत तयार छैन । भारत त पाकिस्तान र माल्दिभ्सबाहेकका बाँकी सार्क सदस्य राष्ट्रहरु नेपाल, श्रीलंका, भुटान, बंगलादेश र एसियान दुई राष्ट्र थाइल्याण्ड र म्यानमारलाई लिएर विमस्टेकमै रमाएको छ । भारत अब विमस्टेकबाहेक पनि व्रिक्स, जी२० जस्ता संरचनाहरुमै ध्यान दिन थालेको छ । पाकिस्तानसमेत रहेको सांघाई कोअपरेशनमा सहजै सहभागी हुने भारत सार्कप्रति भने उदासिन बन्दै आएको छ ।
यो क्षेत्रमा आफूलाई मुली ठान्ने भारत सार्कमा पाकिस्तानको उपस्थिति रुचाउँदैन । त्यसैले उ सार्कलाई क्रियाशिल बनाउन कुनै तहमा सहमत छैन । १८औँ शिखरसम्मेलनपछि अध्यक्ष राष्ट्र बनेको नेपालले पनि सार्क गतिविधि बढाउन कुटनीतिक पहल थालेपनि भारत वेवास्ता गर्छ । सन् २०१९ मा संयुक्त राष्ट्रसंघको महासभामा सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरुको साइडलाइन बैठकपछि कुनै बैठक हुन सकेकोछैन । एकपटक कोरोना भाइरसले विश्व आक्रान्त बनेकाबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै अग्रसरतामा भर्चुअल संवाद भएको थियो ।
यी पछिल्ला घटनामात्र होइन, सुरुदेखि नै सार्कका निर्णयहरु कार्यान्वयन गर्न भारत इच्छुक रहेन । सन् १९८५ मा भारतका लागि शक्ति राष्ट्रहरु निकै टाढा थिए । त्यसबेला यो क्षेत्रको नेतृत्वका रुपमा भारतलाई सार्क चाहिएको थियो । अहिले भारत विश्व शक्तिको होडमा छ । त्यसैले उ यो क्षेत्रभन्दा बाहिर पुगेको छ । अर्थात उसलाई सार्क खासै आवश्यक छैन ।
कार्यान्वयन नभएका सार्क सहमति
–सार्कस्तरीय बैंक
–शैक्षिक प्रगति
–सार्क सदस्य राष्ट्रहरुमा सहज व्यापार
–विउ बैंक स्थापना
–प्राकृतिक प्रकोप नियन्त्रण र गुणस्तर मापदण्डमा समानता
–आतंकबाद र अतिवाद नियन्त्रण
–सार्क साझा यातायात, हवाईसेवा, रेल सेवा
–जलवायु परिवर्तनका विषय
पटक–पटक भएका कुनै पनि सहमतिमा ठोस काम हुनै सकेन । यी सम्झौता कार्यान्वयन मात्र होइन, अहिले त सार्क छ है भन्ने बोर्ड बाहेक कुनै हलचल नै छैन ।
प्रतिक्रिया