खेलकूद

टी-२० विश्वकपमा छनोट हुने नेपालको आश, घरेलु मैदानमा अर्को इतिहास रच्ने मौका (भिडियो रिपोर्टसहित)

२०८० कार्तिक १२ गते २०:४४
टी-२० विश्वकपमा छनोट हुने नेपालको आश, घरेलु मैदानमा अर्को इतिहास रच्ने मौका (भिडियो रिपोर्टसहित)

१२ कात्तिक २०८० काठमाडौं । सन् २०१४ पछि पहिलो पटक ट्वेन्टी–ट्वेन्टी विश्वकप पुग्ने लक्ष्य सहित नेपालले भोलिदेखि हुने एसिया छनोटको थालनी गर्दैछ । मुख्य प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा लगातार शान्दार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा अर्को ऐतिहासिक उपलब्धी हात पार्न चाहन्छ ।

स्वभाविक लय गुमाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा मुख्य प्रशिक्षक मोन्टी देशाई र कप्तानमा रोहित कुमार पौडेलको आगमन फलदायी बनिरहेको छ । गत मंसिरमा आईसिसी लिग टु अन्तर्गत नामिबियामा भएको सिरिजबाट रोहितले नेपाली टोलीको कप्तानीको जिम्मेवारी पाए ।

२० वर्ष ७३ दिनको उमेरमा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानी गर्दै विश्वकै दोस्रो कान्छो खेलाडीको कीर्तिमान बनाए पनि टोलीको प्रदर्शन भने बिर्सनलायक बन्यो । तर मुख्य प्रशिक्षकका रुपमा मोन्टीको आगमनसँगै टोलीको मनोबल मात्र होइन, प्रदर्शन र नतिजा समेत उत्साहजनक बनिरहेको छ ।

लिग टु अन्तर्गत नै फागुनमा घरेलु मैदानमा भएको सिरिजदेखि लयमा देखिएको नेपालले यसबीचमा महत्वपूर्ण उपलब्धी हासिल गरिसकेको छ । यही आत्मविश्वास कायम राख्दै नेपाल दोस्रो पटक टि–ट्वेन्टी विश्वकप खेल्ने लक्ष्यमा छ ।

पछिल्लो पटक नेपालले पाएको सफलतामा मुख्य प्रशिक्षक र कप्तानको जति नै महत्वपूर्ण भुमिका टोलीको प्रत्येक सदस्यको पनि छ । यसमा मोन्टी र रोहितको तालमेलले नेपाली टोलीलाई प्रशिक्षण र खेलका दौरान पनि सन्तुलित बनाएको छ ।

यसैको परिणाम मान्न सकिन्छ, मोन्टीको प्रशिक्षणमा नेपाल घरेलु मैदानमा लगातार १६ खेलसम्म अपराजित रह्यो । गत शुक्रबार सम्पन्न त्रिकोणात्मक सिरिजको फाइनलमा युएईसँग पराजित हुँदै घरेलु मैदानमा नेपालको अपराजित यात्रा टुङ्गिएको हो । तर विश्वकप छनोटको तयारीका रुपमा लिइएको त्यस खेलबाट नेपालले सुधारका पाटोहरु राम्ररी केलाउने मौका पाएको मोन्टीको भनाई छ ।

हालको टोलीमा रहेको विनोद भण्डारी र सोमपाल कामीमात्र नेपालले सन् २०१४ मा बंगलादेशमा विश्वकप खेल्दा टोलीमा रहेका खेलाडी हुन् । टोलीका अधिकांश खेलाडी भने नेपालले पहिलो पटक विश्वकप खेलेको हेरेरै क्रिकेटमा लागेका खेलाडी छन् । नेपाललाई विश्वकपमा हेरेर क्रिकेट खेल्न थालेका युवा खेलाडीहरु घरेलु मैदानको फाइदा उठाउँदै पुनः एक पटक आफ्नो टोलीलाई विश्वकपमा फर्काउन उत्साहित छन् ।

छनोटको पहिलो खेलमा सोमबार नेपालले समुह ए मा सिंगापुरसँग खेल्नेछ । कार्तिक १३ देखि २० गतेसम्म हुने छनोटका खेलहरु मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछन् । नेपाल रहेको समुह ए मा सिंगापुर, ओमान र मलेसिया छन् । समुह बी मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने ट्वेन्टी-ट्वेन्टी विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्