साथीको हत्या आरोपमा धनुषामा दुई जना पक्राउ
१२ कात्तिक २०८० धनुषा । साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका वडा नम्बर ६ चक्कर टोलका पवन सहनी र जनकपुरधाम २४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई पक्राउ गरेको हो ।
कात्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा साथीहरु सहनी र मण्डलको संलग्नता रहेको जनाइएको छ ।
जटहीस्थित नेपाल भारत सीमा पारीबाट प्रतिबन्धित लागुऔषध सेवन गरी आएका तीन जनाबीच मोबाइलको विषयलाई लिएर विवाद भएपछि हरिचनले रुपेशको टाउकोमा पछाडीबाट भाटाले प्रहार गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
घटनाको क्रममा मृतकले प्रयोग गर्ने साइकल, मोबाइल सेट, घटनामा संलग्न रहेका हरिचनले हत्या गर्ने समयमा प्रयोग गरेको टिसर्ट, बाँसको भाटा, पवन सहनीको मोबाइल समेत जिल्ला प्रहरी कार्यालय धनुषाले बरामद गरेको छ । पक्राउ परेका दुवै जनाबिरुद्ध कर्तव्य ज्यान मुद्दा लगाई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया