यूएईले जित्यो त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिजको उपाधि
१० कात्तिक २०८० काठमाडौं । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको उपाधि यूएईले जितेको छ । कीर्तिपुरको त्रिवि मैदानमा भएको फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो ।
जीतको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । युएईको जितमा बासिल हामिद १६ बलमा २ छक्कासहित २२ रनमा आउट भए ।
युएईका मोहम्मद वासिम २२ बलमा ७ चौका र २ छक्कासहित ४५ रनमा आउट भए । युएईलाई ओपनर वासिम र अर्यांश शर्माले ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । युएईलाई जितको लागि अन्तिम ६ बलमा ७ रन चाहिँएको थियो ।
पहिलो बलमा करण केसीलाई बासिल हामिदले कभरमा दुई रन प्रहार गरेका थिए । दोस्रो बल डट राखेपछि चार बलमा पाँच रन चाहिँएको थियो । पाँचौं बलमा स्टेटमा बासिलले छक्का हान्दै रोमान्चक जित दिलाए । त्यसअघि वासिमले दुई महत्वपूर्ण जीवनदान पाएका थिए ।
करण केसीको तेस्रो ओभरको चौथो बलमा प्वाइन्टमा कुशल मल्लले मोहम्मद वासिमको ब्यक्तिगत २३ रनमा क्याच छाड्न पुगेका थिए । ललितको चौथो ओभरको पाँचौं बलमा पुनः ३४ रनमा वासिमले दुई जीवनदान पाएका थिए । ललित कट एण्ड बोल्ड आउट गर्न चुकेका थिए । नेपालका अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । गुलशन झाले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।
कुशल मल्लले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । उनको यो टि–२० आई करिअरको छैटौं अर्धशतक हो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । रोहितले १७ बलमा १ चौकासहित १८ रन बनाए
दीपेन्द्रसिंह ऐरी २० रनमा बोल्ड आउट भए । तल्लोक्रममा करण केसी १७ बलमा २ चौका र १ छक्कासहित २३ रनमा नट आउट रहे । अन्तिम ओभरमा जहुर खानले करणलाई लगातार पाँच बल डट राख्दा अन्तिम बलमा दुई रन दिएका थिए ।
अन्तिम ६० बलमा नेपालले ६७ रन बनाउँदा ५ विकेट गुमाएपछि विशाल योगफलमा पुग्न सकेको थिएन । युएईका आयन खानले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको लिगका चारै खेल जितेको थियो ।
प्रतिक्रिया