Main News

के सुरक्षा योजना सार्वजनिक गर्नु उपयुक्त हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० कार्तिक ५ गते ६:५९
के सुरक्षा योजना सार्वजनिक गर्नु उपयुक्त हो ? (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०८० काठमाडौं । प्रहरीले हरेक वर्षको दशैंमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्दै आएको छ । शहरी क्षेत्रलाई विशेष महत्व दिएर प्रहरीले अपनाउने सुरक्षा योजना सार्वजनिक पनि गर्दछ ।

कतिपय अवस्थामा गोप्य राख्नुपर्ने सुरक्षा योजना सार्वजनिक गर्नु आवश्यक नै हो त भन्ने प्रश्न पनि उठ्ने गरेको छ । दशैं, तिहारलाई लक्षित गरेर हरेक वर्ष नेपाल प्रहरीले सुरक्षा योजना सार्वजनिक गर्दै आएको छ । के सुरक्षा योजना सार्वजनिक गर्नु उपयुक्त हो त ?

चाडपर्वका क्रममा संघीय राजधानी काठमाडौंबाट लाखौं नागरिक बाहिरिने गरेका छन् । कतिपय परिवार त घरमा ताला लगाएर पुर्ख्यौली थलो फर्कने गरेका छन । यस्तोबेला सुरक्षा चुस्त हुनुपर्छ ।

तर, चोरलाई साँचो भनेझैं प्रहरी प्रधान कार्यालयले सुरक्षा योजना र परिचालन हुने सुरक्षाकर्मीको संख्या नै सार्वजनिक गर्ने गरेको छ । प्रहरीका विभिन्न इकाइले पनि पत्रकार सम्मेलन नै गरेर आफ्ना योजनाबारे जानकारी दिने गरेका छन् । यो बर्ष पनि प्रहरीले विषेश सुरक्षा योजना अन्तर्गत देशभर करिब ५० हजार प्रहरी खटाएको छ ।

सुरक्षा योजना सार्वजनिक गर्दा मनोवैज्ञानिकरुपमा नागरिकले सुरक्षित अनुभूति गर्ने तर्क गरिन्छ । प्रहरीले सार्वजनिक गर्ने सुरक्षा योजनाकै कारण कतिपय अपराधिक सुरक्षा तयारीबाट तर्सिने र आफ्नो अपराधिक योजनाबाट पछि हट्न पनि सक्ने संभावना हुने पूर्वसुरक्षा अधिकारीको मत छ । तर,पहिले नै सुरक्षा योजना र रणनीति सार्वजनिक गर्दा अपराधकर्म गर्नेहरुले जानकारी पाउँछन् । उनीहरुले अपराधको योजना र रणनीति बदल्न सक्छन् ।

चाडपर्वका बेला चोरी(डकैतीदेखि कुटपिट र हत्यासम्मका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । विशेष सुरक्षा योजना लागू भएकै अवस्थामा चाडपर्वमा हुने सवारी दुर्घटनाबाट हुने ठूलो जनधनको क्षति सबैभन्दा चुनौतिका रुपमा रहने गरेको छ ।

चाडपर्वमा अपराधकर्म बढ्ने गरेको प्रहरीकै तथ्यांकले देखाउँछ ।

२०७५ को दशैं–तिहार– ८२९ आपराधिक घटना
२०७६ को दशैं–तिहार–१०४३ आपराधिक घटना
२०७७ को दशैं–तिहार– ८८५ आपराधिक घटना
२०७८ को दशैं–तिहार( २८४ आपराधिक घटना
२०७९ को दशैँ–तिहार – ३५६ आपराधिक घटना

दशैं मनाउन एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपर्ने यात्रुको सुरक्षाका लागि विशेष रणनीतिक सुरक्षा जाँच गर्दै आए पनि दुर्घटनाको संख्यामा कमी नआउँदा प्रहरीको सुरक्षा योजनामाथि नै प्रश्न उठ्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *