दलहरुको चियापान, सद्भाव बढाउने माध्यम (भिडियो रिपोर्टसहित)
३ कात्तिक २०८० काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यस वर्ष दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा चियापान कार्यक्रम गर्दैछन् ।
नेपाली कांग्रेसले २०३४ सालदेखि र नेकपा एमालेले २०५१ सालदेखि चाडपर्वको अवसरमा चियापान कार्यक्रम गर्दै आएका छन् । विशेष अवस्था बाहेक हरेक वर्ष गर्ने गरिएको चियापान कार्यक्रमको औचित्य के हो त ?
कोजाग्रत पूर्णिमाका दिन नेपाली कांग्रेसले चियापान गर्दै आएको छ । निर्वासनमा रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति बीपी कोइराला २०३३ पुस १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको दशैँको कोजाग्रत पूर्णिमादेखि कांग्रेसले दशैँ, तिहार, छट लगायतका पर्वको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।
विशेष परिस्थिति बाहेक कांग्रेसले बीपीले सुरु गरेको चियापान तथा विभिन्न दल तथा क्षेत्रका व्यक्तिहरुसँगको शुभकामना आदानप्रदान कार्यक्रमलाई कांग्रेसले निरन्तरता दिइरहेको छ । कांग्रेसले त्यसैको निरन्तरता स्वरुप यस वर्ष पनि कोजाग्रत पूर्णिमाको दिन कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा चियापान आयोजना गर्दैछ । चियापान कार्यक्रमको उद्धेश्य दलहरुबीच सद्भाव बढाउने र शुभकामना आदानप्रदान गर्ने नै रहने कांग्रेस नेताहरु बताउँछन् ।
नेपालमा राजनीतिक दलहरुबीच कहिलेकाहीँ पानी बाराबारकै अवस्था पनि आउने गर्छ । तर, ती दलहरु समस्या पर्दा भने एक ठाउँमा उभिएका धेरै उदाहरण छन् । एकातिर दलीय प्रतिस्पर्धा र अर्कोतिर दलका नेताहरुबीचको हार्दिकता नेपाली राजनीतिको सुन्दरता पनि हो । चाडपर्वका अवसरमा अन्य बेलामा प्रतिस्पर्धी मानिने दलहरुलाई पनि आमन्त्रण गर्ने गरिन्छ ।
राजनीतिक दल, कुटनीतिक नियोग, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरु यस्तो चियापानका निम्तालु हुने गरेका छन् । कांग्रेसले चियापान कार्यक्रमको परम्परा नै बसालेपछि २०५१ सालदेखि भने नेकपा एमालेले पनि यस्तो कार्यक्रम गरिरहेको छ । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको पालामा २०५१ सालदेखि एमालेले दसैं, तिहार, छठ, नेपाल सम्बत् लगायतका पर्वको अवसरमा कोजाग्रत पूर्णिमाको भोलिपल्ट चियापान गर्दै आएको छ । एमालेले यसपटक १४ कात्तिकमा पार्टी कार्यालय च्यासलमा चियापान कार्यक्रम गर्न लागेको छ ।
कांग्रेस र एमालेले जारी राखेको चियापानको परम्पराले लामो समयदेखि सम्पर्कमा नरहेका र ठाकठुक परिसकेका नेताहरुबीच समेत सम्बन्ध नवीकरण हुने गरेको छ । त्यसमाथि चाडपर्वका बेलामा हुने यस्ता कार्यक्रमले आत्मियता बढाउने र आपसी सद्भावलाई थप बलियो बनाउने कार्य गर्ने गरेको नेताहरु बताउँछन् ।
प्रतिक्रिया