Main News

नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

हिमालय टिभी
२०८० कार्तिक ३ गते १३:०४
नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

३ कात्तिक २०८० काठमाडौं । नवरात्रको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ।

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौं दिन कात्यायनी देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ ।

यज्ञ–यज्ञादि, दानलगायत पुण्यकर्म तथा शुभकार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने बिघ्नबाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको विश्वास छ । कात्यायनीको उपासनाबाट रोग, शोक, सन्ताप, भय नष्ट हुने धार्मिक विश्वास छ ।

पौराणिक ग्रन्थ अनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो ।

सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन् । कात्यायनीको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *