Main News

चीनमा बीआरएफ सुरु : उपप्रधानमन्त्रीसहित कांग्रेस र नेकपा एसका नेता पनि सहभागी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ३० गते २०:५६
चीनमा बीआरएफ सुरु : उपप्रधानमन्त्रीसहित कांग्रेस र नेकपा एसका नेता पनि सहभागी (भिडियो रिपोर्टसहित)

३० असोज २०८० काठमाडौं । चीनमा आजबाट तेस्रो बेल्ट एण्ड रोड फोरम बीआरएफ सुरु भएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईको १० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन ९० भन्दा बढी देशका प्रतिनिधि अहिले चीन पुगेका छन् ।

पहिलोपटक आयोजना हुँदा उपप्रधानमन्त्री, दोस्रो पटक हुँदा राष्ट्रपति सहभागी भएको यो सम्मेलनमा तेस्रो पटक फेरि उपप्रधानमन्त्री पठाइएको छ । तर, श्रेष्ठ बाहेक पनि सम्मेलनमा भाग लिन कांग्रेसदेखि नेकपा एसका नेता नै पुगेका छन् ।

चीनले सन् २०१७ मा पहिलो र सन् २०१९ मा दोस्रो बीआरएफ आयोजना गरेको थियो । बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयन र प्रगतिबारे समीक्षा गर्न सम्मेलन आयोजना गरिएको हो । बीआरआई सडक, पूर्वीय सभ्यताको विकास, देशहरूबीचको सहयोग एवम् भाइचारा र पर्यावरण लगायत दिगो विकासमा योगदान पु‍र्याउने चिनियाँ पहलको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय परियोजना हो ।

बाम सरकार हुँदा राष्ट्रपति, गठबन्धन हुँदा उपप्रधानमन्त्री

बीआरआईको पहिलो फोरम हुँदा नेपालमा कांग्रेस र माओवादी सहितको सरकार थियो । दोस्रो बीआरआई फोरमका बेला भने एमाले र माओवादी केन्द्रको सरकार थियो । र, अहिले फेरि कांग्रेस र माओवादीसहित गठबन्धनको सरकार छ । पहिलो फोरममा प्रधानमन्त्री प्रचण्डले तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपालको प्रतिनिधित्व गर्ने गरी बेइजिङ पठाउनुभएको थियो । दोस्रो तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै नेपालको प्रतिनिधित्व गर्दै बेइजिङ पठाइएको थियो । र, यो पटक तेस्रो फोरममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको प्रतिनिधित्व गरिहनुभएको छ । मन्त्री श्रेष्ठले बुधबार सम्मेलनको ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारेको छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनमा नेपाली नेताहरू
बेल्ट एण्ड रोड साझेदार मुलुकका नेता, मन्त्री र अन्य आधिकारिक प्रतिनिधिका साथै बेल्ट एण्ड रोड सहकार्यमा सक्रिय समर्थन र सहभागिता जनाउने व्यापारिक समुदाय, प्रवुद्ध वर्ग र नागरिक समाजलगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति छ । नेपालले बीआरआईमा सम्झौता गरेपनि खुलेर अहिलेसम्म कुरा राखेको छैन । तर, यो कार्यक्रममा सहभागी हुन सरकारको प्रतिनिधित्व गर्ने बाहेक अन्य नेताको लर्को लागेको छ ।

भ्रमणमा गएकाहरू
गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई
परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राई
विपद तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेल
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल
पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला
पूर्वराजदूत दिनेश भट्टराई
अनुप अधिकारी
युवराज संग्रौला

यो पटक बीआरआई फोरममा नेपालबाट पठाइएको प्रतिनिधित्व र चीनबाट आएको निम्तोले भूराजनीतिक अर्थ राखेको छ । यसअघिको कार्यक्रममा राष्ट्रपति नै उपस्थित भइरहँदा यो पटक मन्त्री पठाउनुले नेपालको बीआरआई नीतिबारे धारणा प्रष्ट नभएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *