Main News

गैरआवासीय नेपालीलाई नागरिकता वितरण शुरु

हिमालय टिभी
२०८० असोज ३० गते १३:४०
गैरआवासीय नेपालीलाई नागरिकता वितरण शुरु

३० असोज २०८० काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिन शुरु गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित कार्यक्रमकाबीचमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष अध्यक्ष कुल आचार्य र डा. बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको शुभारम्भ गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले लाखौं गैरआवासीय नेपालीलाई नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको भन्दै विश्वभरका नेपाली नेपालका गैरआवासीय दुत भएको बताउनुभयो ।

गैरआवासीय नागरिकता प्राप्त गरेपछि अध्यक्ष आचार्य र डा. केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउनुभयो।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन् । तर नेपालमा व्यवसाय गर्न र सम्पत्ति राख्न भने पाउँछन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रहित विपरीतको कार्य गरेको ठहरेमा नागरिकता रद्द गर्न सकिने व्यवस्था छ ।

नागरिकता लिनका लागि निवेदक वा उसका आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

विगतमा नेपाली नागरिकता लिएको भए सो त्यागेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण आवश्यक पर्नेछ । साथै नेपालको संविधान, कानुनको परिपालना गर्ने प्रतिबद्धता पनि आवश्यक हुने र शपथ गराउनुपर्ने कानुनी प्रावधानसमेत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *