Main News

इजरायलमा रहेका नेपालीको उद्धार गर्न संयन्त्र गठन

हिमालय टिभी
२०८० असोज २१ गते १४:४८
इजरायलमा रहेका नेपालीको उद्धार गर्न संयन्त्र गठन

२१ असोज २०८० काठमाडौं । इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा संयन्त्र गठन गरेको छ ।

सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री साउदको नेतृत्वमा संयन्त्र गठन गरेको हो । इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न, उनीहरुको उद्दार गर्न र समग्र परिस्थितिको मूल्यांकन गरी समन्वय र सहकार्य गर्न संयन्त्रलाई अधिकार दिइएको छ ।

दक्षिणी इजरायलमा भएको यस भयानक आक्रमणका बारेमा जानकारी आएलगत्तै त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवम उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम सम्पर्क परिचालन गरेको बताइएको छ ।

परराष्ट्रमन्त्रालयले नेपाली राजदूतावासलाई त्यहाँको बस्तुस्थितिको जानकारी गराई सुरक्षित रुपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीलाई जानकारी गराउन निर्देशन दिएको छ ।

यसैबीच परराष्ट्रमन्त्री साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग त्यहाँको अवस्था र नेपालीको उद्दारबारे जानकारी लिनुभएको छ । मन्त्रालयमै बोलाएर मन्त्री साउदले गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका विषयमा छलफल गर्नुभएको हो ।

राजदूत गोडरले इजरायली सरकारकातर्फबाट त्यहाँ रहेका नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिनुभएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *