Main News

झलनाथ खनालको सर्प पालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा

हिमालय टिभी
२०८० असोज २१ गते १४:३७
झलनाथ खनालको सर्प पालनमा भ्रष्टाचार, पूर्वमन्त्रीसहित सात जनाविरुद्ध मुद्दा

२१ असोज २०८० काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रतिष्ठानका लागि निकासा गरिएको १७ करोड ९८ लाख ३३ हजार रुपैयाँमा भ्रष्टाचार भएको भन्दै त्यसलाई नै बिगो मानेर मुद्दा दायर गरेको हो । मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाका तत्कालीन मेयर मानबहादुर खड्काविरुद्ध मुद्दा दायर गरिएको छ ।

त्यस्तै प्रतिष्ठानका पदाधिकारीहरु रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायलाई पनि प्रतिवादी बनाइएको छ ।

लालबन्दी नगरपालिकामा तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा एन्टी भेनम प्रडक्सन एन्ड रिसर्च सेन्टर स्थापना, व्यवस्थापन र सन्चालन गर्ने कार्यमा अनियमितता गरेको उनीहरुमाथि आरोप छ । सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि यो रिसर्च सेन्टर खोलिएको थियो ।

मधेश प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित नगरपालिकाका तत्कालीन मेयर खड्काले आफुलाई नभएको अधिकार प्रयोग गरी प्रचलित कानूनविपरीत लागत साझेदारी शून्य रहेको प्रतिष्ठानलाई सरकारी रकम उपलब्ध गराई संस्थाबाटै कार्यक्रम कार्यान्वयन र खर्चको लेखाङ्कन गर्ने सम्झौता गरेको पनि अख्तियारले जनाएको छ ।

२०७० सालको संविधानसभा निर्वाचनमा सर्लाहीबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्पदंशको समस्या समाधानमा पहल गरेपछि तत्कालीन एमाले सर्लाही अध्यक्ष पन्तको अध्यक्षतामा प्रतिष्ठान खोलिएको थियो ।

व्यक्तिको नाम प्रयोग गरेर प्रतिष्ठान खोलिएको भन्दै चौतर्फी आलोचना भएपछि नाम परिवर्तन गरेर राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् बनाइएको छ । यो प्रतिष्ठानले लालबन्दी– १ मा ७ करोड खर्च गरेर जग्गा खरिद गरे पनि उपभोग भएको छैन । प्रतिष्ठानका नाममा कुल १९ करोड रुपैयाँ निकासा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *