Main News

दलहरुको काइदा, धर्मको नाममा राजनीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज २१ गते ७:५३
दलहरुको काइदा, धर्मको नाममा राजनीति (भिडियो रिपोर्टसहित)

२१ असोज २०८० काठमाडौं । नेपालमा अहिले धर्मको विषयले धेरै स्थानमा विवाद वा चर्चा भइरहेको छ । तर, राजनीतिक दलहरु भने यही विवादको फाइदा लिँदै भोट बढाउने ध्याउन्नमा जुटेका छन् ।

पुराना दलदेखि आफूलाई कम्युनिष्ट बताउने मात्र होइन अहिले आएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि धर्मलाई नै हतियार बनाएर भोट बढाउने काइदामा जुट्न लागेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पशुपतिनाथदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको धार्मिक यात्राको तयारीमा जुटेको छ । सभापति रवि लामिछानेको रुचिका आधारमा यो पार्टीले धार्मिक यात्रा तय गर्दैछ । गत संसदीय निर्वाचनबाट राजनीतिमा उदाएको रास्वपा अहिले धर्मबारे भइरहेको बहस र केही विवादको फाइदा उठाउँदै नाफाको राजनीतिमा जुटेको हो ।

त्यसो त संसद नचलेको दिनको बैठक भत्ता फिर्तादेखि नागरिकका स(सानामा मुद्दामा जोडिएर भोटको सेन्टिमेन्ट रास्वपाले खोजिरहेकै छ । यद्यपि पशुपतिदेखि मुक्तिनाथ सम्मको धार्मिक यात्रा चाँहि केही साम्प्रदायिक द्वन्द्वकै जगमा सुरु गरिँदैछ । र भोट बढाउने मुख्य लक्ष्य देखिन्छ ।

केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय समित बैठकमा शंकर भण्डारी, उर्मिला थपलिया, भीम पराजुली लगायतका नेताहरुले नेपाल पुनः हिन्दु राष्ट कायम हुनुपर्ने माग गरे । कांग्रेसको महासमिति बैठकमा यो मुद्दा लैजाने उनीहरुको गृहकार्य छ । नेपालमा धेरै हिन्दु भएकाले उनीहरुको मत जोगाउन पनि नेपाल हिन्दु राष्ट्र बनाउनुपर्ने मुद्दा बोक्नुपर्ने मत कांग्रेसभित्र सुनिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको त घोषित नीति नै छ नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने, राजा फर्काउने । राप्रपाले हिन्दु र राजसंस्थाको नारा लगाएरै आफ्नो राजनीतिक अस्तित्व जोगाइरहेको छ । राप्रपा नेपाल पनि यही अभियानमा छ ।

उसो त आफूहरुलाई नास्तिक मान्ने कम्युनिष्ट पार्टीहरु समेत मतका लागि धर्मको फेरो समाइरहेका छन् । माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त भारत भ्रमणका क्रममा महाकाल मन्दिरमा विशेष पूजा नै गर्नुभयो । हालै चीन भ्रमणका क्रममा पनि प्रचण्डले मानसरोवरको धार्मिक यात्रा गर्नुभयो । हाल प्रचण्ड क्याबिनेटका अधिकांश मन्त्री नै धार्मिक अभियानमा लागेको जस्तो प्रतीत हुन्छ ।

उसो त यसमा एमाले अध्यक्ष केपी ओली पनि कम हुनुहुन्न । तत्कालीन प्रधानमन्त्री ओलीले त बालुवाटारस्थित सरकारी निवासमै राम–सीताको मूर्ति निर्माण गरी चितवनको माडी पठाउनु मात्र भएन, कतिपय समारोहमा घण्टौँसम्म धार्मिक प्रवचनसमेत दिनुभयो । यी घटनाक्रमले नयाँ वा पुराना जुनसुकै दल धर्मकै फेरो समातेर भोट बढाउने जुक्तिमा लागेको देखिन्छ । धर्मका विषयमा भएका तर्क वा विवादले समाज द्वन्द्वउन्मुख हुन खोज्दा दलहरु भने धमिलो पानीमा माछा मारेर राजनीतिक रोटी सेक्न् निकृष्ट खेलमा जुट्नु दुर्भाग्य देखिन्छ ।

कुनै पनि व्यक्तिले आफूले चाहेको धर्म मान्न पाउनु उसको अधिकार हो । हिन्दुधर्मालम्बीको बाहुल्य भएको देशमा अहिले चलाइएका कुनै न कुनै प्रकारका अभियान धर्मको आवरणमा भोट बढाउने औजार बनिरहेका छन् । तर दलहरुको यो काइदाले साम्रदायिक रुपमा दरार उत्पन्न हुने र यसले दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पार्ने जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *