Main News

नोबेल शान्ति पुरस्कार इरानी मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने

हिमालय टिभी
२०८० असोज १९ गते १७:१२
नोबेल शान्ति पुरस्कार इरानी मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने

१९ असोज २०८० काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानवअधिकारकर्मी नरगिस मोहम्मदीलाई दिइने भएको छ ।

आज आयोजित एक कार्यक्रमबीच रोयल स्विडिस एकेडेमीले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता घोषणा गरेको हो । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकारको प्रवर्द्धनमा लागेको भन्दै एकेडेमीले मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।

मोहम्मदीलाई इरान सरकारले जेलमा राखेको छ । उनलाई तेहरानस्थित कुख्यात इभिन कारागारमा राखिएको छ । नरगिसले पत्रकारका रूपमा इरानमा लामो समय काम गरेकी छिन् ।

उनले पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी थिइन् । उनलाई यसै वर्ष संयुक्त राष्ट्र संघले प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गरेको थियो । नरगिससहित इरानी अन्य दुई पत्रकार निलोफर हमिदी र एलाहेह मोहम्मदीलाई राष्ट्र संघले गत मेमा प्रेस स्वतन्त्रता पुरस्कार दिएको थियो ।

५१ वर्षीया नरगिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आएकी छिन् । गत वर्ष बेलारुसका मानव अधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने यही अक्टोबर ९ मा घोषणा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *