नेपालगञ्जमा कर्फ्यु कायमै

१९ असोज २०८० बाँके । बाँकेको नेपालगञ्जमा आज निषेधाज्ञा र कर्फ्यूको जारी छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान अर्को सूचना जारी गर्दै पुनः निषेधाज्ञा र कर्फ्यू लगाएको हो ।नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र बिहान ६ देखि राति ८ बजेसम्म निषेधाज्ञा जारी रहने सूचनामा उल्लेख छ ।
पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टास्न वा लेख्न तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै स्थानमा पाँचजनाभन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा लगाइएको छ ।
राति ८ देखि भोलि बिहान ६ बजेसम्म उपमहानगर क्षेत्रभित्र चार किल्लामा कर्फ्यू आदेश जारी गरिएको छ।
यसअघि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न मंगलबार दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू हिजो बिहान ८ देखि राति ८ बजेसम्म हटाएको थियो । राति ८ बजेदेखि आज बिहान ६ बजेसम्म भने कर्फ्यू लगाइएको थियो ।
प्रतिक्रिया