Main News

राप्रपाको दाउ : कम्मल ओढेर घ्यू (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १७ गते २०:५०
राप्रपाको दाउ : कम्मल ओढेर घ्यू (भिडियो रिपोर्टसहित)

१७ असोज २०८० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पुनः सत्तामा फर्किने तयारीमा जुटेको छ । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले विश्वासको मत पाउने अवस्था कमजोर बनेपछि राप्रपा केन्द्रकै सत्ता गठबन्धनसँग मिलेर सत्तामा फर्किने तयारीमा जुटेको हो ।

योसँगै संघ र प्रदेशमा सत्तामा छिर्न खोजिरहेको राप्रपाले आफ्नै नाडी छामेर भविस्य ठम्याउन नसकेपछि सामाजिक सञ्जालमा लोकरिझ्याईँको प्रश्न तेर्स्याएको छ ।

कोशी प्रदेशमा संघीय सत्तारुढ गठबन्धनसँग राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा मिले सरकार सहजै बन्छ । अहिले यही मौकालाई सदुपयोग गर्नेगरी राप्रपा कोशीलाई भर्याङ बनाएर संघीय सरकारमा सामेल हुन चाहन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनौपचारिक संवादमा जुटेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समूह सरकारमा जाने मनस्थितिमा छ ।

त्यसै भएर असोज १५ गते बसेको केन्द्रीय कार्यसम्पादनको बैठकमा अध्यक्ष लिङ्देनले पदाधिकारीको परामर्शमा अध्यक्षले सरकारबारे धारणा बनाउने निर्णय गराउनुभयो । अर्थात अध्यक्ष लिङ्देन सरकारमा सहभागी हुन चाहनुहुन्छ । उहाँ प्रचण्ड सरकारकै पालामा उपप्रधानसहित उर्जा मन्त्री हुनुहुन्थ्यो । फेरि पनि उहाँ उर्जा मन्त्री नै हुन चाहेको स्रोतले बताएको छ । तर, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र सरकारमा जान नहुने पक्षमा हुनुहुन्छ । त्यही भएर लिङ्देनले सरकारमा जाने निर्णय गर्ने अधिकार आफूमा राखेको बताइएको छ ।

कोशीलाई भर्याङ बनाएका लिङ्देनले मंगलबार ट्विटरलगायत सामाजिक सञ्जाल मार्फत् एउटा प्रश्न गर्नुभयो, ‘कोशी प्रदेशमा राप्रपाले के गर्दा उचित होला रु’ सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवैले बहुमत प्राप्त गर्न नसक्दा कोशीमा कहिले विधि र कहिले विधान मिचेर सरकार बनाउने र भत्काउने खेल भइरहेको छ । यो प्रदेशमा सत्ताका लागि निर्णायक पार्टी राप्रपा नै छ । उसले विगतमा सहयोग गरेको र हाल जसरी पनि बहुमत नपुग्ने भएपछि सहयोग नगरेको नेकपा एमाले सत्तामा छ । एमालेको सत्ता केही घण्टाभित्र ढल्ने अवस्थामा लिङ्देनले अब के गर्ने भन्ने प्रश्न फ्लोरलाई छोडिदिनुभयो ।

विगतमा एमालेको क्याम्पबाट टसमस गर्न नचाहेका लिङ्देनलाई सिधै अब एमाले छोड्छौँ भन्न असहज भएपछि निर्णय गर्ने देखावटी अधिकार जनता–जनार्दनलाई सुम्पिदिनुभयो ।

कम्मल ओढेर घ्यू खान लागेको बुझेरै हुनुपर्छ ट्विटरमा लिङ्देनले सोधेको प्रश्नमा अधिकारकर्मी सुवोध प्याकुरेलले जवाफ दिनुभयो, विगतको अस्थिर सत्ता साझेदार नबन्नुहोस् । उहाँको जवाफ छ, ‘राप्रपालाई बहुदलीय कालदेखि सत्ताका लागि अस्थिर साझेदारी गर्ने दलका रुपमा चिनिन्छ । आफ्नो प्रतिबद्धता र सैद्धान्तिक अडानमा अविचलित रहँदै भरपर्दो र स्थायी साझेदारीको आयाम स्थापित गरिदिनुहोस् ।’

गत भदौ ४ गते तत्कालीन मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत लिनुअघि राप्रपाले गठबन्धनसँग राम्रै बार्गेनिङ गर्‍यो । बार्गेनिङ नमिलेपछि भदौ २ गते अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेख्नुभयो, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेशसभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु।१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौंसम्मै आइपुग्यो ।’

सामाजिक सञ्जालको इन्ट्रोमै ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्धको अभियन्ता हुँ’ भन्ने किफायती नारा दिएका लिङ्देनले कसले कसलाई अफर गरेको हो भनेर खुलाउनु भएन । सांसदलाई प्रलोभनमा पार्ने वा खरिद बिक्रि गर्ने जस्तो गम्भीर मुद्दा उठाएपछि उनीहरुबारे नखुलाउनुका पछाडि यो पनि लोकरिझ्याईका लागि बुनिएको जालमात्र पो हो कि भनेर आशंक गर्ने ठाउँ बन्यो । खैर, नेपालमा सत्ता टिकाउन खरिद बिक्रि हुने गरेको इतिहास जगजाहेर छ नै छ ।

यतिबेला कोशीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार एक महिने कार्यकालबाट बिदा हुने तरखरमा छ । किनकी एमालेसँग बहुमत छैन र राप्रपाले सहयोग गर्दा पनि बहुमत पुग्दैन । अब बहुमत नपुग्ने भएपछि यहाँ कि त मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था छ कि त एमालेले गठबन्धनकै दलसँग साझेदारी गरेर मिलिजुली सरकार चलाउनुपर्ने अवस्था छ ।

यो अवस्थामा एमालेले कांग्रेससँग मिलेर सरकार चलाउन प्रस्ताव गर्ने गाइँगुईँ सुरु भइसकेको छ । कांग्रेस र एमाले मिलेमा राप्रपा यो कार्यकालभरि सरकारमा फर्किन सक्ने छैन । त्यस्तो हुनुभन्दा कोशीसहित संघीय सरकारमै प्याकेजमै सहमति गरेर दुवैतिरको सत्तामा ठाउँ सुरक्षित गर्ने गरी लिङ्देनले सामाजिक सञ्जालमा बार्गेनिङको पहिलो अस्त्र प्रक्षेपण गरेको स्पष्ट छ । योसँगै कोशीमा सकेसम्म मुख्यमन्त्री नै फुत्काउने नभए संघमा उपप्रधानमन्त्री सुरक्षित गर्ने अर्थात् दुध चोरी खाने दाउ, घ्यू चोरी खाने दाउमा राप्रपा देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *