Main News

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको दादागिरी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १७ गते २०:४७
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको दादागिरी (भिडियो रिपोर्टसहित)

१७ असोज २०८० काठमाडौं । मंगलबार धादिङको सिद्धलेख–६ परेवाटारमा उत्पादित एरोमा नामको शिल लगाइएको खानेपानीको बोतलमा किरा भेटिएको थियो ।

पानीमा अखाद्य वस्तु भेटिएको विषयमा जिल्ला प्रशासन कार्यालयमा हामीले राखेको चासोमा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली गैरजिम्मेवार रुपमा प्रस्तुत हुनुभयो । मानिसको स्वास्थ्यसँग जोडिएको विषयमा पराजुलीको गैरजिम्मेवारी शैलीले सरकारी कर्मचारीको नियत र जवाफदेहितामाथि प्रश्न उठाएको छ ।

उहाँ हुनुहुन्छ धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली । उहाँको व्यवहार भने कुनै जिम्मेवार सरकारी अधिकारीको जस्तो छैन । उहाँलाई फेरि एक पटक सुनौँ ।

धादिङको सिद्धलेख-६ परेवाटारमा ट्रयू शोलुशन प्रालिले उत्पादन गरेको पानी एरोमाको शिलबन्दी बोतलमा किरा देखिएपछि मंगलबार हामी रिर्पोटिङका लागि त्यहाँ पुगेका थियौँ । हामी पुगेको खबर पाएपछि धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि आईपुग्नुभयो ।

उहाँलाई हामीले बोतलभित्र भएको किरा देखायौँ। पानीको गुणस्तरमा प्रश्न छँदै थियो । तर बाहिरैबाट देखिनेगरी किरा भएको पानी बजारमा पठाउने उद्योगीलाई प्रशासनको रोहबरमा सामान्य जरिवाना लगाएर उन्मुक्ति दिइयो ।
किरा देखिएको पानीमा कोलिफर्म ब्याक्टेरिया समेत रहनसक्ने भएकाले परीक्षण गर्नुपर्ने हो । तर परीक्षण गरिएन । मात्र, किरा हेरियो र ५० हजार जरिवाना लगाएर उन्मुक्ति दिइयो ।

हाम्रो यही चासोमा सहायक प्रमुख जिल्ला अधिकारी पराजुली हामीविरुद्ध अपशब्दमै उत्रिनुभयो । अझ यतिमा मात्र रोकिनुभएन उहाँले त अनुगमन र कारबाही मिडियाका लागि गरिदिएको समेत बताउनुभयो । के उहाँको जवाफदेहिता यही हो त ?

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली सरकारका गैरजिम्मेवार अधिकारीहरुको प्रतिनिधि हुनुहुन्छ । जसका कारण नागरिकको ज्यूधन मात्र होइन विधिको शासनसमेत खण्डित हुने अवस्था सिर्जना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *