Main News

कांग्रेसले फिर्ता बोलाउला त मन्त्री ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १७ गते २०:४३
कांग्रेसले फिर्ता बोलाउला त मन्त्री ? (भिडियो रिपोर्टसहित)

१७ असोज २०८० काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले आधा कार्यकालको पहिलो चरणमा समाजवादी मोर्चालाई सरकार चलाउन दिने प्रस्ताव गरेसँगै कांग्रेसमा मन्त्री फिर्ताको बहस हुन थालेको छ ।

सरकारमा रहेका मन्त्रीहरु प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको कार्यकर्ता जस्तो देखिएको र माओवादीको छायाँमा कांग्रेस परेको भन्दै आगामी केन्द्रीय कार्यसम्पादन समितिमा मन्त्री फिर्ताबारे पर्याप्त छलफल हुने नेताहरुको दाबी छ । तर, के कांग्रेसले सजिलै मन्त्रि फिर्ता बोलाउन सक्छ ?

नेपाली कांग्रेस रूपान्तरण अभियान बागमती प्रदेशले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा महामन्त्री गगनकुमार थापाले सरकारमाथि प्रश्न उठाउँदै कांग्रेसका मन्त्री फिर्ता बोलाउने प्रस्ताव राख्नुभयो ।

मुख्य सत्ताघटक दलकै महामन्त्री थापाको यस्तो प्रस्तावले अहिले कांग्रेसभित्र नयाँ बहस सिर्जना गरेको छ । अहिले सरकारमा रहेको माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई गठबन्धन गर्दाको सहमतिअनुसारको कार्यकाल कांग्रेसले बाहिरै बसेर सघाउने र कांग्रेसको पालोमा एक्लै सरकार चलाउने गरि अघि बढ्नुपर्ने थापाको मत छ ।

उसो त अहिले सरकारले जनजिविकाको सवालमा काम गर्न सकेन भन्ने मत कांग्रेसभित्र बलियो छ । संस्थापनइतरपक्षका नेता शेखर कोइराला सरकारका लागि आउने दुई तीन महिना चुनौतीपूर्ण ठान्नुहुन्छ । उहाँ त थापाभन्दा एक कदम अघि बढेर वर्तमान सत्ता गठबन्धनबाटै कांग्रेस अलग भनेरै भएपनि प्रचण्डलाई प्रधानमन्त्रीबाटै विदा गर्नुपर्ने मत राख्नुहुन्छ ।

केन्द्रीय समिति बैठकमै केन्द्रीय सदस्यहरुले कांग्रेसकै मन्त्रीले काम गर्न नसकेको गुनासो गरे । यस्तो अवस्थामा सरकारको अक्षमताको भारी पार्टीले बोक्न नहुने र त्यसको विकल्प कांग्रेस सरकारबाट बाहिरिने रहेको महामन्त्री गगनको प्रस्तावको पक्ष र विपक्षमा कांग्रेसमा अहिले बहस जारी छ ।

सबैभन्दा ठूलो दल सरकारमा रहेर पनि प्रधानमन्त्री प्रचण्डको छायाँमा परेको र मन्त्रीहरुले काम देखाउन नसकेको भन्दै आगामी केन्द्रीय कार्यसमिति बैठकमा यसबारे ठोस निर्णय हुने कांग्रेस नेताहरुको दाबी छ । महामन्त्री थापाको प्रस्ताब जायज भएको भन्दै यथास्थितिमा सरकारमा रहेका मन्त्रीबारे पार्टीले चाँडै बिचार गर्नेमा संस्थापनइतरपक्ष छ ।

त्यसो त महामन्त्रीको प्रस्ताव व्यक्तिगत भएको र संस्थागत निर्णयका लागि पार्टी समितिमा प्रस्ताव आउनुपर्ने पक्षमा संस्थापन पक्ष छ । महामन्त्रीले गरेको प्रस्तावअनुसार पार्टी अहिले अघि बढ्ने अवस्था नबनेको उनीहरुको मत छ ।

सरकारमा संस्थापन पक्षका मन्त्री हाबी हुँदा इतर समुहको सहभागिता कमजोर छ । महामन्त्री थापा पछिल्लो समय सरकारको चर्को आलोचनामा हुनुहुन्छ भने नेता कोइराला पनि थापाकै लाइनमा देखिनुहुन्छ । गत साता सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा र सार्वजनिक मञ्चहरुमा समेत कोइराला प्रचण्डको विपक्षमा बोल्दै आउनुभएको छ । तर, हाल सरकारमा देउवा र शेखरका महत्वपूर्ण सारथी सरकारमा छन् ।

आफुहरुलाई हटाउने अवस्था आउन नदिन उनीहरुले देउवा र शेखरमाथि दबाब बढाउने पक्का छ । सरकारमा हिस्सा नपाएका महामन्त्रीले राखेको प्रस्तावमा सरकारमा मन्त्री पठाएर सत्ताआनन्द लिइरहेको संस्थापन र शेखरपक्ष तत्काल आइहाल्ने सम्भावना भने कमजोर देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *