Main News

ओलीको असन्तुष्टि : सरकारमाथि आरोप र प्रश्नको ओइरो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १६ गते २०:५६
ओलीको असन्तुष्टि : सरकारमाथि आरोप र प्रश्नको ओइरो (भिडियो रिपोर्टसहित)

१६ असोज २०८० काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सरकारमाथि प्रश्नैप्रश्न गर्नुभयो ।

विकास आयोजनाको भुक्तानी नदिएको, सुन तस्करी प्रकरण, ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा प्रभावकारी काम गर्न छाडेर सुशासनको गफ मात्रै दिएको भनेर सरकारको आलोचना गर्नुभयो । ज्यान मुद्दामा आममाफी दिने निर्णयको विरोधदेखि विदेश भ्रमणमा प्रधानमन्त्रीले नेपाललाई प्रतिनिधित्व गर्न नसकेको आरोप लगाउनुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुभयो । प्रमुख प्रतिपक्षी दलका नेतालाई संसदमा बोल्न कुनै समय सीमा तोकिदैन्, त्यसको भरपुर फाइदा उठाउनेमा ओली पर्नुहुन्छ । ओलीको सम्बोधन मूलतस् राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र कानूनमन्त्रीको चर्को आलोचनामा केन्द्रित रह्यो । ओलीले काम शुरु भइसकेको आयोजनाको भुक्तानी नदिएर भयावह स्थिति ल्याएको टिप्पणी गर्नुभयो ।

विकासको कुरापछि ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कुरा गरेको कत्ति पनि नसुहाउने टिप्पणी गर्नुभयो । पछिल्लो समय भएका सुन तस्करी ढाकछोप गर्न मरिमेटेर लागेका गृहमन्त्रीले सुशासनको डंका पिट्न सुहाउँदै नसुहाउने ओलीको भनाइ छ ।

सुन तस्करीमा मात्रै हैन, ओलीले ललिता निवास जग्गा प्रकरणमा पनि सरकारमाथि प्रश्न उठाउनुभयो । गठबन्धनका नेता जोगाउन रुमालले होइन गम्छाले पसिना पुछ्दै ललिता निवासको फाइल बन्द गरिएको ओलीको तर्क थियो ।

सम्बोधनका क्रममा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति पनि प्रश्न उठाउनुभयो । संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफीमा ओलीको आपत्ति थियो ।

प्रधानमन्त्रीले अमेरिका र चीन भ्रमणलाई उपलब्धीपूर्ण भनिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले त्यसको खण्डन गर्नुभयो ।

ओलीको सम्बोधनमा जनयुद्ध दिवसको दिन सार्वजनिक विदा दिने सरकारी निर्णयको विरोधदेखि सामाजिक सद्‍भाव कायम राख्न समेत आह्वान गर्ने विषय समेटियो । २ घण्टा लामो सम्बोधन गरेका ओली स्वयंलाई आफ्नो भाषणलाई पट्यार लाग्दो भन्छन भन्ने पनि थाहा छ ।

ओलीले यतिको आलोचना गरिरहँदा पशुपतिको जलहरी प्रकरण, गिरीबन्धु टी(स्टेट, यती(ओम्नीले भने उहाँलाई गिज्याइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *