स्थानीय तहका कर्मचारीले पनि थाले आन्दोलनमा, काठमाडौं केन्द्रीत प्रदर्शन

१५ असोज २०८० काठमाडौं । स्थानीय तहका कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै आन्दोलन थालेका हुन्।
माइतीघर मण्डलामा भेला भएर हातमा कालो पट्टी बाँधेर कर्मचारीहरुले दबाबमुलक कार्यक्रम शुरु गरेका हुन् । आन्दोलनमा सहभागी हुन संघर्ष समितिले देशभरका स्थानीय तहका कर्मचारीलाई काठमाडौं बोलाएको छ।
स्थानीय तहका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने माग गरेका छन् । त्यसैगरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, विना सहमति ७ सय ५३ वटै स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ।
समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई पनि निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत दिनुपर्ने माग संघर्ष समितिको छ।
त्यसैगरी जुनसुकै तहमा वहाल रहेका कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग अघि सारेका छन्।
प्रतिक्रिया