Main News

कांग्रेसको इतर पक्ष, सरकारविरुद्ध प्रतिपक्षी दलभन्दा कडा बन्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १४ गते २०:४७
कांग्रेसको इतर पक्ष, सरकारविरुद्ध प्रतिपक्षी दलभन्दा कडा बन्दै (भिडियो रिपोर्टसहित)

१४ असोज २०८० काठमाडौं । महत्वपूर्ण नौ मन्त्रालयसहित सरकारमा रहेको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस संस्थागत रुपमा सरकारका कामको जस तथा अपजस लिने ठाउँमा छ । पार्टीका दुवै उपसभापति सरकारमा छन् ।

जसका कारण पूर्णरुपमा कांग्रेस सरकारी पार्टीका रुपमा छ र सरकारका कामको बचाउ गर्छ । तर पार्टीकै संस्थापनइतर पक्ष भने प्रमुख प्रतिपक्षी जस्तो भूमिकामा खुल्न थालेको छ । संसदको प्रमुख प्रतिपक्षी नेकपा एमाले सीमित मुद्दाहरुमा सरकारसँग भिडिरहेका बेला सत्तारुढ कांग्रेसकै इतर पक्ष सरकारको विकल्प खोज्नुपर्ने गरी विरोधमा उत्रिएको हो ।

यो कुरा सुन्दा तपाईलाई लाग्न सक्छ, कुनै विपक्षी दलको नेताले पो बोल्दै छ कि ? तर होइन, उहाँ त सत्तारुढ दलका मुख्य नेता शेखर कोइराला हुनुहुन्छ । कोइरालाको यो एउटा मात्र सरकारविरुद्धको अभिव्यक्ति होइन, हिजो(आज उहाँले हरेक सार्वजनिक मञ्चहरुमा प्रचण्ड सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आउनुभएको छ । उहाँले भदौ १९ गते पनि काठमाडौंमै आयोजना भएको एक कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्डको माओवादीलाई जिताए जातीय राज्य दिने अभिव्यक्तिमा पनि आपत्ति जनाउनुभयो ।

भदौ २३ गते चितवनमा आयोजित अर्को कार्यक्रममा प्रचण्ड सरकारले कामै गर्न नसकेको बताउनुभयो । त्यसबाहेकका हरेक मञ्चमा कोइरालाको यस्तै अभिव्यक्ति सार्वजनिक हुने गरेको छ । १४औँ महाधिवेशनमा सभापतिका निकटतम् प्रतिद्वन्द्वी कोइराला सत्तारुढ कांग्रेसभित्र एउटा समूहको नेतृत्व गर्नुहुन्छ । उहाँको समूहमा उपसभापतिदेखि महामन्त्री, सहमहामन्त्री सहित झण्डै ३५ प्रतिशत नेता रहेका छन् ।

सभापति शेरबहादुर देउवा अहिले नै विकल्पको ुमूडुमा देखिनुहुन्न । तर उहाँसँग जोडिएकै नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएपछि खाण समूह पनि सरकारको विकल्प खोज्न मूडमा देखिन्छ, त्यही भएरै हुनसक्छ कोइराला खाण भेट्न कारागारसम्म धाउनुभएको छ । देउवा निकट अर्का सह(महामन्त्री महेन्द्र यादव पनि सरकारको काममा असन्तुष्ट हुनुहुन्छ ।

असोज ४ गतेदेखि बसेको केन्द्रीय समिति बैठकमा संस्थापन इतर मात्र होइन, खाण समूह, देउवा निकट मानिएकै केही नेताले सरकारको आलोचना गरे । त्यस बाहेक महामन्त्री विश्वप्रकाश शर्माले नै संविधान दिवसका अवसरमा सरकारले लिएको आममाफीको निर्णय अपरिपक्व भएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

अर्का सह–महामन्त्री बद्री पाण्डेले नागरिकहरु महंगी र बेरोजगारीको चपेटामा रहँदा सरकारले बेवास्ता गरिरहेको आरोप लगाउनुभयो ।

केन्द्रीय सदस्य प्रदीप पाण्डेले सरकारका कामबारे आफूहरुलाई बोल्नै लाज लाग्ने बताउनुभयो । सरिता प्रसाईँले मूल्यवृद्धिमा सरकारले अनदेखा गरेको विषयमा आलोचना गर्नुभयो । आफ्नै पार्टीका ९ जना मन्त्री सरकारमा रहेको कांग्रेसभित्र सरकारको तीव्र आलोचना भइरहेको छ, जसमा इतरपक्ष चाँहि प्रतिपक्षी दलभन्दा पनि कडारुपमा सरकारविरुद्ध खडा भएको छ । आइतबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित इतरपक्षको कार्यक्रममा सहभागीहरुसमेत सरकारप्रति रुष्ट सुनिए ।

पछिल्लो पटक सार्वजनिक भएका नक्कली शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणको पुनः अनुसन्धान, सुन प्रकरण जस्ता विषयमा सरकारले खेलेको कच्चा खेलका कारणसमेत कांग्रेसको इतरपक्षमा चर्को असन्तुष्टि सुनिन्छ ।

गत वर्षको मंसिरमा भएको संसदीय निर्वाचनबाट संसदको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नै पार्टी र तत्कालीन गठबन्धनमा परिपक्व भूमिका निर्वाह गर्न नसक्दा सत्ताको नेतृत्व गुमाएको थियो ।

त्यसपछि लगभग केन्द्रदेखि प्रदेशसम्मको सत्ता गुमाउने अवस्थामा पुगेको कांग्रेस रहस्यमयरुपमा विकसित घटनाक्रमले पुनः सत्तामा त फर्कियो तर केन्द्रीय सत्ताको बागडोर भने माओवादीलाई सुम्पिनु पर्‍यो । सरकार काण्ड खोतल्न, पार्टीको संस्थापन पक्ष काण्डमा मुछिएकाहरुको बचाउ गर्न र एमाले सीमित काण्डमा राजनीतिक दाउपेच हेरेर विरोधमा रहँदा कांग्रेसको इतरपक्ष सबैलाई माथ दिने गरी सरकारको विरोधमा उभिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *