Main News

धरहरा : चढ्न लाग्छ रहर ! तर निर्माण सम्पन्न चाँहि कहिले हुन्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १४ गते २०:४३
धरहरा : चढ्न लाग्छ रहर ! तर निर्माण सम्पन्न चाँहि कहिले हुन्छ ? (भिडियो रिपोर्टसहित)

१४ असोज २०८० काठमाडौं । काठमाडौंको नौ तल्ले धरहरा, कुनै बेला निकै चर्चाको केन्द्र । २०७२ सालको भूकम्पले भत्काएपछि पुनः निर्माणको काम थालियो । २०७५ साल असोजबाट निर्माण थालिएपनि अझै काम पुरा हुन सकेको छैन ।

कहिले निर्माण कम्पनीको उदासिनता त कहिले स्थानीयको अवरोधले धरहराको काम पूरा भएकै छैन । तर, २०७८ बैशाखमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेर नागरिकमा भ्रम छर्न खोज्नुभयो ।

२ वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दा १० महिनाभित्रै नागरिकले धरहरा चढ्न पाउने बताउनु भएको थियो । तर, निर्माण नसकिँदा धरहरा चढ्ने रहरले काठमाडौं आउनेहरु बाहिरबाट हेरेर चित्त बुझाइरहेका छन् ।

२ वर्षमा सम्पन्न हुने गरी २०७५ असोज १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा निर्माण सुरु गरेको थियो ।तर, ५ पटक म्याद थप्दा पनि बल्ल ९० प्रतिशत काम सकिएको छ । पाँचौ पटक थपिएको म्याद आगामी असोज ३० गते सकिँदैछ । निर्माण कम्पनी जीआइइपीसी–रमन कन्स्ट्रक्सन भने तोकिएको समयमा निर्माण सम्पन्न गरिसक्ने दाबी गर्छ ।

धरहरा निर्माणको सम्झौता भएको २ वर्षसम्म त क्षेत्र विस्तार गर्दैमा समय बित्यो । हुलाक कार्यालय हटाउन, सञ्चय कोषसँग जग्गा सट्टापट्टा गर्न र टक्सार विभागको जग्गा लिएर विभागलाई व्यवस्थापन गर्नमै समय खर्चिएको देखिन्छ ।अझै पनि विवाद सकिएको छैन । स्थानीयले उबेलाको पुरानो प्रसिद्ध सुन्धाराबाट परम्परागत शैलीमा पानी खसाल्नुपर्ने माग राख्दै आएका छन् ।

पुनर्निर्माण प्राधिकरणको म्याद सकिएपछि अहिले धरहराको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागले लिएको छ । विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले सुन्धाराको ऐतिहासिक स्वरुप नबिग्रने गरी पानी खसाल्ने व्यवस्थाका लागि अध्ययन गरिरहेको छ । धराहरा पूर्णरुपमा सम्पन्न हुन भन्ने अझ ३ महिना लाग्नेछ, निर्माण सम्पन्न हुन र सरकारलाई बुझाउन ।

मेरो धरहरा मै बनाउँछु अभियानअन्तर्गत संकलित रकममा सरकारले थपेर ३ अर्ब ४९ करोड लागतमा धरहरा निर्माण अघि बढाइएको हो । यसअनुसार ४२ रोपनी क्षेत्रफलको सुन्धारा सहितको सम्पूर्ण क्षेत्रलाई आधुनिक रुप दिइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *