Main News

स्वास्थ्यकर्मी काममा फर्किए, तर हटेको छैन डर (भिडियो रिपोर्टसहित)

२०८० असोज १४ गते २०:३८
स्वास्थ्यकर्मी काममा फर्किए, तर हटेको छैन डर (भिडियो रिपोर्टसहित)

१४ असोज २०८० काठमाडौं । पाँच दिनको आन्दोलनपछि शनिबार सरकार र चिकित्सकबीच ६ बुँदे सहमति भएसँगै देशभरका अस्पतालमा उपचार सेवा सुचारु भएको छ ।

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध सरकारले कारबाही गर्ने सहमति गरेको छ । तर स्वास्थ्यकर्मी भने सरकारले गरेको सहमति कार्यान्वयन हुनेमै आशंका गर्दै कमजोर मनोबलसहित काममा फर्किएका छन् ।

गुल्मीका टीकाबहादुर कामी श्रीमतीको उपचारका लागि काठमाडौ आएको ६ दिन भयो । असोज ९ गते नै काठमाडौं आइपुगेका टीकाबहादुरले आइतबारका दिन बल्ल श्रीमतिलाई जचाँउन पाउनु भयो । शनिबार सरकारसँग ६ बुँदे सहमति भएपछि ड्युटीमा फर्किएका चिकित्सकहरुले आइतबारदेखि बिरामी हेर्न थालेका छन् ।

सहकर्मीमाथि हातपात भएको विरोधमा ५ दिन सडक आन्दोलनमा उत्रिएका चिकित्सक काममा फर्किँदा पनि सन्तुष्ट भने देखिँदैनन् । कार्यस्थलमा असुरक्षित महसुस गरिरहेका छन् ।

सरकार र स्वास्थ्यकर्मीबीचको सहमतिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनको पहिलो संशोधन २०७९ अनुसार कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । तर सहमतिको मसी सेलाउन नपाउँदै आइतबारमात्रै सिनामंगलको केएमसी अस्पतालमा चिकित्सकमाथि कुटपिट भयो । काममा फर्किएका स्वास्थ्यकर्मी यो घटनाले फेरि झस्किए ।

स्वास्थ्यकर्मीहरुले आफ्नो गल्ती भए सजाय भोग्न तयार रहेको बारम्बार बताइरहेका छन् । तर कार्यस्थलमा पीडितका नाममा हुने कुटपिट भने रोकिनुपर्ने र घटनामा संलग्नलाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।

पछिल्ला केही दिनयता निरन्तर भइरहेका कुटपिटका घटनाले स्वास्थ्यकर्मीहरुको मनोबल घटेको देखिन्छ । काममा फर्किएका स्वास्थ्यकर्मी सरकारसँगको सहमतिपछि पनि आफ्नो जित भएको अनुभूति गर्न सकेका छैनन् । जसका कारण सरकारले रातारात सहमति गरेर स्वास्थ्यकर्मीलाई काममा पठाउन सफल भएकोमा सन्तुष्ट हुने भन्दा पनि आक्रमणका घटना रोक्ने कुरामा ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *