Main News

अनमोल केसी अस्पतालमा, पहुँचवाला बिरामी नै नहुँदा पनि नाटक गरेर अस्पताल भर्ना ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १३ गते २०:३२
अनमोल केसी अस्पतालमा, पहुँचवाला बिरामी नै नहुँदा पनि नाटक गरेर अस्पताल भर्ना ! (भिडियो रिपोर्टसहित)

१३ असोज २०८० काठमाडौं । जुनसुकै आरोपमा पक्राउ पर्ने व्यक्तिलाई अदालतको अनुमति लिएर प्रहरीले हिरासतमा राख्न सक्छ । तर पैसा र पहुँचवाला आरोपी भने हिरासत छल्न बिरामी भएको कागज बनाएर अस्पतालको सुविधा सम्पन्न कोठामा बस्दै आएका छन् ।

अहिले आपराधिक विश्वासघातको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी पनि यही प्रवृत्तिको सिको गर्दै पक्राउ परेकै दिन अस्पताल पुगेका छन् ।

आपराधिक विश्वासघात गरेको आरोपमा कलाकार अनमोल केसी शुक्रबार पक्राउ परे । शनिबार सार्वजनिक बिदा भएकाले उनको अदालती प्रक्रिया आइतबार मात्रै सुरु हुनेछ । उनले हिरासत छल्न आफू बिरामी भएको भन्दै अस्पताल भर्ना गर्न प्रहरीलाई बाध्य पारे । अहिले उनी चक्रपथस्थित चिरायु अस्पतालको बेड नम्बर ५ सय १ मा आराम गरिरहेका छन् ।

अनमोलले फिल्म निर्मातासँग १० लाख रुपैयाँ लिएपछि अभिनय गर्न आनाकानी गरेको आरोप लागेको छ।बुधबारदेखि सुरु हुने भनिएको रावायण नामको फिल्मको सुटिङमा अनमोल तयार नभएपछि निर्माण पक्षले प्रहरीमा जाहेरी दिएको थियो ।

यही जाहेरीका आधारमा पक्राउ परेका केसीलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राख्न लगिए पनि उनी बस्न नमानेपछि मध्यरातमा प्रहरीले नै चिरायु अस्पताल पुर्‍यायो ।

थुनुवा बिरामी भए पहिला सरकारी अस्पतालमा चेकजाँच गराउनुपर्ने, सरकारी अस्पतालले रिफर गरे मात्रै निजी अस्पतालमा लैजान पाउने कानुनी व्यवस्था छ । तर कानुनको खिल्ली उडाउँदै उनलाई प्रहरीले नै निजी अस्पतालको लक्जरीयस क्याबिनमा पुर्‍याएको छ । केसीको स्वास्थ्य अवस्था अस्पतालमा भर्ना हुनुपर्ने खालको छैन ।

केसी मात्र होइन, महँगा अस्पतालको रकम तिर्न सक्ने र पहुँचमा हुनेहरु बिरामी नै नहुँदा पनि नाटक गरेर अस्पताल भर्ना हुने गरेका छन् । बलात्कारको आरोपपछि पूर्वसभामुख कृष्णबहादुर महरा पनि हिरासत नगई अस्पताल भर्ना भएका थिए । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेले कारागारमा बिताउनुपर्ने समय अस्पतालमै कटाएका थिए ।

यसरी हिरासतको समय अस्पतालमा कटाउने पहुँचवालाहरुको फेहरिस्त लामो छ । कुनै आरोपमा पक्राउ पर्नासाथ बिरामी भएको बाहना बनाउने र हिरासतमा बस्नुपर्ने समय जति अस्पतालकै लक्जरी सुविधामा बिताउने प्रवृत्ति बढ्दै गएको छ । यसमा न प्रहरी, न अस्पताल न न्यायालय नै सचेत देखिन्छ ।

बिरामी भए जोकोहीले उपचार गर्न पाउनुपर्छ । तर अपराध गरेको आरोप लागेर पक्राउ परेपछि बिरामी भएको नाटक गर्दै अस्पताल बस्ने प्रवृत्तिले पैसा हुनेहरुले न्याय किनिरहेको र हिरासत र कारागार गरीबका लागि बनेको प्रतीत हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *