Main News

मन्त्री सुदन किराती स्टन्टबाजी गरेर रमिता देखाउँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १० गते २१:०४
मन्त्री सुदन किराती स्टन्टबाजी गरेर रमिता देखाउँदै (भिडियो रिपोर्टसहित)

१० असोज २०८० काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती मन्त्रालयको नेतृत्वमा पुगेको ९ महिनासम्म पनि एकोहोरो स्टन्टबाजीमा हुनुहुन्छ ।

आफ्नो यो लामो कार्यकालमा के के उपलब्धि भयो भन्नेमा भन्दा पनि कर्मचारीमाथि हप्कीदप्की गरिरहेको र त्यसैको प्रचारमा आफ्नो समय व्यतित भइरहेको कुरामा सचेत देखिनुहुन्न । मन्त्री किराँतीलाई किन लागेको होला यस्तो रहर ?

गत वर्षको माघ ३ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रुपमा नियुक्त भएदेखि सुदन किराँतीको दैनिकी कर्मचारीलाई निर्देशन दिने र निर्देशन दिएको कुरा फेसबुकबाट प्रचार गर्दैमा बितिरहेको छ ।

किराँती मन्त्री नियुक्त भएपछि सिंहदरबारस्थित मन्त्रालय परिसरमै चन्दा बाकस राखेर आफ्नो स्टन्टबाजी यात्रा सुरु गर्नुभएको थियो । तर मन्त्री किराँतीको स्टन्टको मुख्य केन्द्र भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्यो ।

मन्त्री नियुक्ति भएलगत्तै किराँती माघ ५ गते केही युट्युबर र केही पत्रकार बोकेर विमानस्थलको अनुगमनमा पुग्नुभयो र सिधै चर्पीको अनुगमन गर्नुभयो । कर्मचारी बोलाएर जागिर खाइदिने धम्की दिनुभयो । धम्की दिएको कुरा फेसबुकमार्फत् सार्वजनिक गर्नुभयो ।

माघ २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्नुभयो । ठाकुरको निलम्बनपछि एक कार्यक्रममा पुगेर आफूले दुःखद निर्णय लिएको र यस्तो निर्णय लिइरहने भाषण गर्नुभयो ।
त्यसपछि सुरुभयो किराँतीको स्पष्टीकरणको शिलशिला ।

गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोली लिएर भारत भ्रमणमा जानुभयो । भ्रमणमा आधा दर्जन त मन्त्री नै थिए । पर्यटन मन्त्री किराँती टोलीमा पर्नुभएन । प्रधानमन्त्री भारतमै रहेका बेला नेपालमा एक सञ्चारकर्मीले किराँतीलाई सोधे, अनि तपाईँ चाँहि किन जानु भएन भारत भ्रमण ?

किन भ्रमणमा गइनँ भन्नेसमेत थाहा नपाएका मन्त्री किराँतीले जवाफ दिनुभयो, ‘उपलब्धि नहुने ठाउँमा नजाने निर्णय गरें ।’ भारत भ्रमण सफल भएको भनेर चौतर्फी प्रचार भइरहेका बेला किराँतीले उपलब्धि नहुने भनेर बीचमा प्वाक्क बोलिदिएबापद् पद जोगाउनै धौधौ धयो ।

असार ११ गते मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्दै गोप्य रुपमा पठाइएको भनिएको पत्र फेसबुकमार्फत् सार्वजनिक गर्नुभयो । स्पष्टीकरणमा जे(जे सोधिएको भए पनि खासमा एक हेलिकोप्टर व्यवसायीबाट प्रभावित भएर मन्त्री किराँती आफ्नै कर्मचारीमाथि जाइलागेको खुल्न आयो ।

गत भदौ २२ गते एक कार्यक्रममा मन्त्री किराँतीले प्रचण्डको नेतृत्वमा सहमतिको सरकारको प्रस्ताव गर्नुभयो । त्यसको तीनपछि आयोजित अर्को एक कार्यक्रममा आफूले राम्रो काम गरेको देखेर केही व्यक्तिले नाजायज दबाब दिइरहेको र राम्रो काम नगर्न करोडौँको अफर दिइरहेको भन्नसमेत भ्याउनुभयो ।

विमानस्थल, नागरिक उड्डयन प्राधिकरण हुँदै मन्त्री किराँती अहिले पर्यटन बोर्डसँग भिडिरहनु भएको छ । सीईओ धनञ्जय रेग्मीसँगको टसलले बोर्डको बजेट अहिलेसम्म अड्काइदिइरहँदा कर्मचारीले तलबसमेत खान नपाउने अवस्था बनेको छ । तर मन्त्री किराँती भने आफूले गरिरहेका यी फण्डा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र सार्वजनिक मञ्चहरुमा ओकल्ने काम गर्दै रमाइरहनु भएको छ । जसले सरकारी संयन्त्रहरु आफ्नो ऐन, नियम तथा कार्यविधिअनुसार चल्ने भन्दा पनि मन्त्रीको हप्कीदप्कीमा पो चल्ने रहेछन् भन्ने भास्य स्थापित गर्ने प्रयास भइरहेको छ । नत्र भने मन्त्री नियुक्त भएको ९ महिनामा आफूबाट के काम भयो भनेर उहाँ आफैँले समीक्षा गर्ने कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *