Main News

स्वास्थ्यकर्मीको आन्दोलनले बिरामी मारमा (भिडियो रिपोर्टसहित)

२०८० असोज १० गते २०:५३
स्वास्थ्यकर्मीको आन्दोलनले बिरामी मारमा (भिडियो रिपोर्टसहित)

१० असोज २०८० काठमाडौं । अस्पतालहरुको सेवा ठप्प पारेर देशैभरका स्वास्थ्यकर्मी आन्दोलित छन् । स्वास्थ्यकर्मीमाथि हातपात भएको विरोधमा गरिएको आन्दोलनले बिरामी भने मर्कामा परेका छन् ।

देशभरका सबैजसो अस्पतालमा उपचारका लागि भन्दै पुगेका बिरामी उपचार नपाएर छटपटाउनुपर्ने अवस्था बनेको छ । तर स्वास्थ्यकर्मी भने आन्दोलन रोक्ने पक्षमा देखिँदैनन् ।

मंगलबार राति लडेर ढाडको करङ भाँचिएकी आफ्नी सानिमालाई ल्याएर खोटाङकी मीना भुजेल काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइपुग्नु भएको छ । तर ट्रमा सेन्टरका स्वास्थ्यकर्मी इमर्जेन्सीमा समेत उपचार गर्न तयार छैनन् । मर्नै लागेको बिरामी हो भने मात्र उपचार गर्ने, नत्र बिरामी नछुने भन्दै फर्काइदिएपछि मीनाले सानिमाको उपचार कहाँ लगेर गर्ने भन्ने सोच्न सक्नु भएको छैन ।

मीना मात्रै होइन, ट्रमा सेन्टरमा उपचारका लागि बिहानै पुगेका अधिकांश बिरामी उपचार नपाएर यत्तिकै बसिरहेका छन् ।

आडैको वीर अस्पतालको दृष्य झनै नमिठो देखिन्छ । एकातिर स्वास्थ्यकर्मीहरु सेवा ठप्प पारेर अस्पताल अगाडि प्रदर्शनमा छन्, अर्कोतिर बिरामी भने उपचार भइहाल्ला कि भन्ने आशामा स्वास्थ्यकर्मीको बाटो कुरेर बसिरहेका छन् ।

सँधैजसो बिरामीको भीड भइरहने ट्रमा र वीर अस्पताल मात्र होइन उपत्यकाका अधिकांश अस्पतालको दृष्य यस्तै छ । धरानको अवस्थासमेत यस्तै छ । आवासीय चिकित्सकसँगै मेडिकल अफिसरले समेत काम छोड्दा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुगेका बिरामीहरुको विचल्ली देखिन्छ ।

स्वास्थ्यकर्मीहरु स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन ऐन २०७९ बमोजिम चिकित्सक र स्वास्थ्यकर्मीलाई हातपात गर्ने र अस्पतालमा तोडफोड गर्नेलाई कारबाही हुनुपर्ने र ऐनको पुनः संशोधन गरी कानुनबमोजिम अधिकतम जेल सजाय हुनुपर्ने माग सहित सेवा नै बन्द गरी आन्दोलनमा छन् । बिरामीहरु भने उपचार नपाएर छट्पट्टीमा छन् । कानूनअनुसार अत्यावश्यकीय सेवा बन्द गर्न पाइँदैन । तर स्वास्थ्यकर्मीले पटकपटक यसरी सेवा ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।

स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई निरुत्साहित गर्ने गरी सरकारले कडा कार्बाही गर्नुपर्ने हो । तर त्यो पनि हुन सकेको छैन । जसको मारमा बिरामीहरु पर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *