Main News

राष्ट्रपति रामचन्द्र पौडेल : आममाफीको बोझ ! नागरिक सम्मान फिक्का (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ९ गते २०:४६
राष्ट्रपति रामचन्द्र पौडेल : आममाफीको बोझ ! नागरिक सम्मान फिक्का (भिडियो रिपोर्टसहित)

९ असोज २०८० काठमाडौं । नागरिक अभिनन्दन र सम्मान थाप्दै देशाटनमा ब्यस्त हुनुहुन्छ, राष्ट्रपति रामचन्द्र पौडेल । संविधानका संरक्षक एवं देशका अभिभावक राष्ट्रपतिलाई सम्मान प्राप्त हुनु सामान्य हो । तर पछिल्ला विवादीत हस्ताक्षर र उहाँको गठबन्धन मोहले जनकपुरमा गरिएको नागरिक सम्मान फिक्का भएको छ ।

जन्मकैदको सजाय पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई दिइएको आम माफीपछि त राष्ट्रपतिले आफ्नो विवेक नै गुमाएको टिप्पणी भइरहँदा पछिल्लो सम्मानप्रति पनि प्रश्न उठेको छ ।

मैथली भाषामा लेखिएको अभिनन्दन पत्रमा उल्लेख गरिएको छ ‘त्रेतायुगमा भगवान राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईंको आगमनले जनकपुरबासीलाई हर्ष विभोर भएका छन् ।’
अभिनन्दन पत्रमा राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी समस्या समाधान गरेकोमा खुशी ब्यक्त पनि गरिएको छ ।

फागुन २५ मा राष्ट्रपति निर्वाचित भएयता पौडेलले आफुलाई सादगी देखाउने अनेक प्रयास गर्नुभयो । तर उहाँको उपचारका लागि राज्यकोषबाट ५५ लाख भुक्तानी लिएसँगै आलोचना शुरु भयो । सवारीलाई सामान्य बनाउने प्रयास गर्नुभएका रामचन्द्रको असामान्य कमदको आलोचना भइनै रहेको छ ।

असोज ८ गते जनकपुरधाम उपमहानगरको आयोजनामा उहाँलाई अभिनन्दन गरिएको थियो । संविधान दिवसका दिन राष्ट्रपति पौडेलले ६७० कैदीको बाँकी जेल सजाय छुट गर्ने निर्णय गर्नुभएको थियो, नेपाल सरकारको सिफारिसमा ।

कुल कैद सजायमध्ये ५० प्रतिशत भुक्तान गरिसकेका ४९७, ४० प्रतिशत भुक्तान गरेका १७० र ज्येष्ठ नागरिक ३ जना गरेर ६७० जनाले संविधान दिवसमा राष्ट्रपतिबाट कैद छुट पाएका थिए । तर जन्मकैदको सजाय पाएका नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल पनि राष्ट्रपतिको निर्णयबाट थुनामुक्त भएसँगै राष्ट्रपतिको विवेकमाथि प्रश्न उठिरहेकै छ ।

२० वर्ष कैद बस्नुपर्ने गरी जिल्ला अदालत, बाँकेले आदेश गरेको भए पनि रिगल ९ वर्ष कारागार बसेर छुटे । ढकालको योजनामा २०७२ असार २८ गते नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो । घटना भएका बेला ढकाल तरुण दलका क्षेत्रीय सभापति थिए ।

सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेता ढकाल रिहा हुँदा स्वागतका लागि कारागार बाहिर कार्यकर्ताको ताँती नै लागेको थियो । त्यसअघि सत्ता गठबन्धन जोगाउनकै लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ पनि विवादीत बन्यो ।

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते रेशमलाई रिहाइ गरिएको थियो । तीनै तहका अदालतले जन्मकैद सजाय सुनाएका चौधरीलाई छुटाउने सन्दर्भमा पनि राष्ट्रपति चुक्नुभयो । र जनकपुरधाममा कलियुगका राम भन्दै गरिएको अभिनन्दन चाकडी सिवाय केही देखिदैन ।

२०७२ पुस २ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दीर पुग्दा विधवाले टेकेको भन्दै पुस ३ गते मधेसी मोर्चाका कार्यकर्ताले जानकी मन्दीर चोख्याउने ताण्डव नृत्यको चर्चा सेलाईसकेपनि कपडाको चप्पलसहित मन्दिर प्रवेश गरेका कलियुगका राम अर्थात रामचन्द्र पौडेलले देश र लोकतन्त्रका लागि पुर्याएको योगदानलाई नै बिर्साउनेगरी राष्ट्रपति पदको दुरुपयोगमा लाग्नुभएको त होइन ? प्रश्न उठेको छ । र अभिनन्दन नै सस्तो हुने र सम्मान नै लजाउने कृयाकलापबाट टाढा रहन अझै पनि समय छ । र व्यवस्थामाथी नै प्रश्न उठाउनेहरु सलबलाइरहेका बेला ख्याल गर्नुपर्ने उहाँले नै हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *