Main News

एमसीसीबारे रास्वपा : आफ्नै आङमा ‘भैँसी’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज ८ गते २०:५४
एमसीसीबारे रास्वपा : आफ्नै आङमा ‘भैँसी’ (भिडियो रिपोर्टसहित)

८ असोज २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सकभर विवादित बिषयमा बोल्नु हुन्न । बोल्नै परे देशलाई के फाइदा हुन्छ भन्ने भन्दा पनि आफ्नो दल र आफूलाई कति फाइदा हुन्छ भन्ने हिसाव किताव गरेर मात्रै बोल्नु हुन्छ ।

यसको एउटा ज्ज्वलन्त विषय अमेरिकी सहयोग परियोजना एमसीसी पनि हो । हालै लामिछानेले एमसीसीका विषयमा दिएको अभिव्यक्तिले यही तथ्यलाई पुष्टि गर्छ ।

जनगुनासो सुन्न भन्दै गत हप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु विभिन्न जिल्ला पुगे । पार्टीका सभापति रवी लामिछाने आफैँ पनि रोल्पामा पुग्नु भयो । सो क्रममा लामिछानेसँग रोल्पाली जनताले एमसीसीका विषयमा धारणा मागे । उहाँले आफू सुरु देखिनै एमसीसीको विपक्षमा रहेको र संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने कार्य इतिहासकै गल्ती भएको भनेर पार्टीको दस्तावेजमै उल्लेख गरेको दाबी गर्नु भयो ।

आफू र आफ्नो पार्टी एमसीसीको बिपक्षमा हुँदा हुँदै पनि दलालको आरोप लाग्ने गरेकोप्रति लामिछानेले असन्तुष्टि पनि व्यक्त गर्नु भयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई देखाएर एमसीसी पक्षधरसंग गठबन्धन गर्ने राष्ट्रवादी आफूहरु दलाल रु भन्दै प्रतिप्रश्न पनि गर्नु भयो ।

विप्लवमाथि दोहोरो चरित्र देखाएको आरोप लगाएका लामिछानेले आफ्नै पार्टीमा एमसीसीका पक्षधर नेता स्वर्णिम वाग्ले रहेको भने ख्यालै गर्नु भएन । एमसीसी परियोजनाको प्रस्ताव गर्नेदेखि सम्झौता हुँदासम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका वाग्ले अहिले रास्वपा सांसद हुनुहुन्छ । तर रास्वपाका प्रवक्ता मुकुल ढकाल भने सांसद वाग्लेले हिजो विज्ञका रुपमा एमसीसीको समर्थन गरेको तर आज एमसीसीको विपक्षमा रहेको दाबी गर्नुहुन्छ ।

पार्टी प्रवक्ताले स्वर्णिम वाग्ले रास्वपामा प्रवेश गरेपछि एमसीसीको विपक्षमा रहेको दाबी गरिरहँदा हामीले उहाँलाई भेटेर एमसीसीबारेको धारणा जान्ने प्रयास गरेका थियौं । तर वाग्लेको सचिवालयले विदेशको कार्यक्रममा जाने तयारीमा रहेकाले दशैंअघि कुराकानी हुन नसक्ने जवाफ दियो ।

रास्वपा प्रवेश गर्नुअघि एमसीसीबारे के भन्नुहुन्थ्यो स्वर्णिम वाग्ले ?
एमसीसी पक्षधरलाई आफ्नो दलमा गौरवका साथ महत्वपूर्ण स्थान दिनुभएका लामिछानेले आफूलाई भने एमसीसी विरोधीको कित्तामा उभ्याउने प्रयास गरिरहनु भएको छ । अनि अरुलाई भने एसमीसीसी बिरोधी र पक्षधर एकठाउँमा उभिएकोमा खिसिटिउरी पनि गरिरहनु भएको छ ।

यसो त रास्वपालाई विगतमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताका विषयमा पनि प्रष्ट नभएको आरोप लाग्ने गरेको थियो । पछिल्लो समय भने रास्वपाले आफ्नो दल संविधानका मर्म र भावना अनुसार चल्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *