Main News

पूर्वमन्त्री श्रेष्ठसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

हिमालय टिभी
२०८० असोज ८ गते १८:२९
पूर्वमन्त्री श्रेष्ठसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

८ असोज २०८० काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जना दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्य यमुना भट्टराई र खुशीप्रसाद थारुको संयुक्त इजलासले पूर्वमन्त्री श्रेष्ठसहित ३ जनाले पदमा वहाल रहँदा गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरेको ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ गते श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेकोमा मुद्दा दायर गरेको थियो । श्रेष्ठले निजामति सेवा सुरुगरेदेखि सचिव हुँदै खिलराज रेग्मी नेतृत्वको सरकारमा मन्त्री बन्दासमेत गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएर अख्तियारले मुद्दा दायर गरेको थियो ।

अख्तियारले श्रेष्ठले ४ करोड ४५ लाख २७ हजार ६ सय ६८ रुपैयाँ गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो । यसलाई सदर गर्दै विशेष अदालतले दोषी ठहर गरेको हो । श्रेष्ठ २०७० सालमा तत्कालीन पर्यटन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद गरी तीनवटा मन्त्रालय सम्हालेका थिए ।

अख्तियारले उनी मन्त्री भइसकेको अवधिलाई समेत आधार मानेर अनुसन्धान गरेको थियो । सार्वजनिक सेवामा रहँदा उनले ६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेका थिए । तर छानबिन हुँदा उनको साथमा ११ करोड ३५ लाख रुपैंया सम्पत्ति भेटियो ।

अख्तियारले स्रोत नखुलेको भन्दै ४ करोड ४५ लाख रुपैयाँ बिगो माग दावी गरेको थियो । अख्तियारले उनको बैंकमा रहेको ६८ लाख ५० हजार, घर जग्गा लगायतको सम्पत्ति जफत हुनुपर्ने माग दावी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *