प्रदेश अधिवेशनमा गुटगत उम्मेदवारी निषेध गर्ने एमालेको प्रयास
८ असोज २०८० काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशनमा गुटगत उम्मेदवारी निषेध गर्ने प्रयास गरेको छ ।
सोमबार काठमाडौंमा सुरु भएको बागमती प्रदेशको अधिवेशन उद्घाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेशमा गुटगत रुपमा उम्मेदवारी दिन नपाइने उद्घोष गर्नुभयो ।
अध्यक्षका आकांक्षीको संख्या बढीरहँदा अध्यक्ष ओलीले आकांक्षीहरुले गुट र प्यानल बनाएर उम्मेदवारी दर्ता गरे उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिनुभयो ।
अधिवेशन उद्घाटन गर्दै ओलीले व्यक्तिगत रुपमा चुनावी प्रतिस्पर्धामा होमिए आफूलाई आपत्ती नहुने भन्दै गुट बनाए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिनुभएको हो । बागमती प्रदेशको प्रथम अधिवेशनबाट नेतृत्वमा पुग्न हाल ५ जनाले आकांक्षा देखाएका छन् । ती मध्ये हालसम्म कुन आकांक्षी कुन नेता निकट भन्नेसमेत खुलिसकेको छैन ।
वर्तमान प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यहरु कैलाश ढुंगेल र कृष्ण दाहाल प्रदेश अध्यक्षका आकांक्षी देखिएका छन् । यस्तै चितवनका कृष्णभक्त पोखरेल र पूर्व सांसद तथा बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ पनि प्रदेश अध्यक्षको आकांक्षी देखिनुभएको छ ।
अधिवेशनले प्रदेशमा पाँच पदाधिकारीसहित दुई सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । प्रदेश अधिवेशनमा मंगलबार बन्द सत्र हुनेछ । बन्द सत्रसँगै सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने भएको छ । सर्वसम्मत नभए बुधबार मतदान हुने कार्यतालिका छ ।
अधिवेशनले ५ पदाधिकारीसहित २ सय ४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । प्रदेश अधिवेशनका लागि एमालेले बागमतीका १३ जिल्लाबाट १ हजार एक सय ६३ प्रतिनिधि छनोट गरेको छ ।
यसअघि लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल निकट आकांक्षीहरु प्रष्टरुपमा गुटगत प्रतिस्पर्धामा उत्रिएका थिए ।
प्रतिक्रिया