चिनी कालोबजारी गरेको आरोपमा गुह्येश्वरी ट्रेड लिङ्कको गोदाम सिल

८ असोज २०८० काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालोबजारी गरेको आरोपमा गृहेश्वरी ट्रेडलिंकको काठमाडौं कुलेश्वरस्थित गोदाम सिल गरेको छ ।
कृत्रिम भण्डारण गरेर राखिएको र लेबल स्पष्ट नभएको चिनीको गोदाम सिल गरेर गुणस्तर परिक्षणका लागि पठाइएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिनुभयो । करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको पोखरेलले बताउनुभयो ।
व्यवसायी सन्तोष खेतानले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो । खुद्रा व्यापार संघका अधिकारीहरुले १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेको बताएका छन ।
दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १३० रूपैयाँ किलोसम्म पुर्याइएको छ ।
खेतानको फर्मले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा खरिद गरेका चिनी भण्डारण गरेर चाडपर्वको मुखमा महँगोमा बिक्री गर्ने गरेको पाइएको सरकारी अधिकारीहरुको दाबी छ । खेतानको गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद भएको छ ।
प्रतिक्रिया