Main News

नागढुंगा-मुग्लिङ सडकमा खाल्डाखुल्डीले यात्रुलाई सास्ती (भिडियो रिपोर्टसहित)

२०८० असोज ५ गते २०:५०
नागढुंगा-मुग्लिङ सडकमा खाल्डाखुल्डीले यात्रुलाई सास्ती (भिडियो रिपोर्टसहित)

५ असोज २०८० धादिङ । संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रुपमा रहेको पृथ्वीराजमार्गको नागढुंगा–नौविसे–मुग्लिन सडक खण्डमा अत्यधिक खाल्डाखुल्डी छन् ।

नागढुंगादेखि नौबिसेसम्मको सडक त अत्यन्तै जीर्ण भइसकेको छ । दशैं तिहार नजिकिँदै जाँद व्यस्तता बढ्ने यो सडकको मर्मत हुन सकेको छैन । जसका कारण सवारी साधन लामो जाममा पर्ने गरेका छन् भने यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

दैनिक हजारौं सवारी साधन र यात्रु ओहोर दोहोर गर्ने पृथ्वीराजमार्गको नौविसे– मुग्लिङ सडक खण्ड विस्तार भैरहेको छ । बिस्तारका क्रममा ठाउँ ठाउँमा खाल्डा खुल्डी बनेका छन् । खाल्डाखुल्डीले सवारी साधन सहज रुपमा चल्न सकेका छैनन् भने दुर्घटनाको जोखिम पनि बढ्दो छ । करिब १० लाख मानिस दशैं मनाउन लागि काठमाडौं छोडेर आफ्नो घर यही बाटो भएर जान्छन् । तर, जीर्ण सडकका कारण यसपटकको दशैँमा यात्रुलाई असहज हुने देखिन्छ ।

अहिले नागढुंगा– नौविसे– मुग्लिङ सडक खण्ड तीन भागमा विभाजन गरेर विस्तार भइरहेको छ । पहिलो खण्ड नौविसेदेखि नागढुंगासम्म ३० प्रतिशत र नौविसेदेखि मलेखुको दोस्रो खण्ड १२ प्रतिशत काम सम्पन्न भएको छ । मलेखुदेखि मुग्लिनसम्मको तेस्रो खण्डको काम भने सुरु हुन सकेको छैन । तर सडक विस्तार र स्तरोन्नतिको काममा भैरहेको ढिला सुस्तीको मारमा सवारी साधन, चालक सहचालक र यात्रु परेका छन् ।

सरोकारवाला निकाय भने निर्माणको चरणमा यो सामान्य भएको सस्तो जवाफ दिन्छ ।

विस्तारपछि यहाँको सडक बस्ती तथा सहरी क्षेत्रमा सर्भिस लेन सहित चार लेनको हुने छ । नागढुंगा नौविसे खण्ड तीन लेन बनाइने छ । बस्ती नभएका र साँघुरो क्षेत्रमा दुई लेनको सडक हुने छ । विश्व बैंकको १९ अर्ब रुपैयाँ ऋण सहयोगमा नागढुंगादेखि मुग्लिङसम्मको ९६ किलोमिटर सडक विस्तार गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *