Main News

काठमाडौंमा आजदेखि द्रुत बस सेवा सञ्चालनमा

हिमालय टिभी
२०८० असोज ३ गते १३:२४
काठमाडौंमा आजदेखि द्रुत बस सेवा सञ्चालनमा

३ असोज २०८० काठमाडौं । उपत्यकामा आजदेखि द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधबारदेखि उपत्यकामा बस र्‍यापिड ट्रान्जिट तथा द्रुत बस सेवा सञ्चालन गरेको हो ।

रत्नपार्कस्थित शान्तिवाटिकाबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बसको उद्घाटन गर्नुभएको थियो । पहिलो दिन दुईवटा बस शान्तिवाटिकाबाट सूर्यविनायकसम्म सञ्चालन हुने छ । बस सञ्चालन भएपछि ४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिन्छ ।

बस सञ्चालनका लागि ‘लेन मार्किङ’ र अन्य तयारी पूरा भइसकेको छ । तर, बिहीबारदेखि भने दैनिक २५ वटा बस यस नियमअनुसार सञ्चालन हुनेछन् ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टप कायम गरिएको छ । ती स्टपमा यात्रुलाई झार्ने र चढाउने गरिनेछ ।

बसमा अन्य सार्वजनिक बससरह नै भाडा लाग्नेछ । सडक विभागले द्रुत बस सञ्चालन गर्ने लेन नै छुट्याएको छ । भइरहेकै सडकको लेनमा मार्किङ तथा ठुल्ठूला अक्षरमा द्रुत बस गुड्ने लेनबारे जानकारी दिइनेछ ।

तिनकुने–माइतीघर क्षेत्रमा सर्भिस लेनको देब्रे साइट, कोटेश्वर चोकआसपासमा मुख्य लेनको देब्रे साइट, कोटेश्वरदेखि जडीबुटीसम्म सर्भिस लेनको देब्रे साइट, जडीबुटीदेखि सूर्यविनायकसम्म मुख्य लेनको देब्रे साइट र माइतीघर–रत्नपार्क क्षेत्रमा मुख्य लेनको देब्रे साइटबाट द्रुत बस गुड्नेछन् ।

द्रुत बस जहाँ पायो त्यही रोकिनेछैन । यो बस अन्य सार्वजनिक सवारीसाधनका लागि बनाइएका सबै स्टपमा पनि रोकिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *