Main News

संकट टार्न प्रमुख दल देशप्रति जिम्मेवार हुनुपर्ने अध्यक्ष ओलीको टिप्पणी

हिमालय टिभी
२०८० असोज २ गते १७:४६
संकट टार्न प्रमुख दल देशप्रति जिम्मेवार हुनुपर्ने अध्यक्ष ओलीको टिप्पणी

२ असोज २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको संकट टार्न प्रमुख दल देशप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

एमालेले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको सुवास र संविधान विषयक प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले देश गम्भीर संकटमा पुगेको भन्दै ती समस्यालाई समाधान गर्न सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले धेरै प्रकारका खतराबाट देश जेलिएको उल्लेख गर्दै त्यसबाट मुक्त गराउनु प्रमुख राजनीतिक दलहरुको कर्तव्य भएको बताउनुभयो । ओलीले आफ्नो पार्टीले मुलुकमा प्राप्त संवैधानिक र राजनीतिक अधिकार गुम्न नदिन नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताउनुभयो ।

उहाँले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।

एमाले विभाजित गरेर नयाँ पार्टी खोलेको दुई वर्षपछि नेता खनाल पहिलो पटक एमाले मुख्यालय पुग्नु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानको मुल मर्म कार्यान्वयनमा ढिलाई भइरहेको बताउनुभयो । उहाँले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाई हुन गएको तर्क समेत गर्नुभयो ।

नेता सिटौलाले संविधान जारी हुन नदिनका लागि अनेकौ दबाब आए पनि त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । गत सोमबार राति बालुवाटारस्थित निवासमै हृदयघातका कारण नेम्वाङको निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *