Main News

विदेशमा रहेका नेपालीको भोट : बजेट नदिने आश्वासनमात्रै बाँड्ने ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १ गते २०:४२
विदेशमा रहेका नेपालीको भोट : बजेट नदिने  आश्वासनमात्रै बाँड्ने ! (भिडियो रिपोर्टसहित)

१ असोज २०८० काठमाडौं । विदेशमा रहेका नेपालीको भनाइ छ–हाम्रो नोट चल्ने तर भोट नचल्ने । उनीहरुले आफू रहेकै देशबाट तीनै तहका प्रतिनिधि चुन्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

सरकारले पनि बजेट भाषणमा निर्वाचनमा सहभागिताको सुनिश्चिता गर्नका लागि मतदाता नामावली संकलन गर्ने भन्यो । निर्वाचन आयोग पनि तयारीमा लाग्यो । तर, बजेट नै नभएका कारण विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलको काम अलपत्र परेको छ ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकामा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यहाँ रहेका नेपालीको एक टोलीलाई विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने गरी कानून बनाउन लागेको जानकारी दिनुभयो ।

उहाँले चाँडै मतदाता नामावली पनि संकलन गर्ने काम सुरु गर्नेपनि आश्वासन दिनभ्याउनुभयो । तर निर्वाचन आयोग भने नामावली संकलन गर्न रकम नै नभएको गुनासो गर्छ । चालु आर्थिक वर्षको बजेटमा शीर्षक मात्रै राखिएको अनि बजेट नभएको यो कार्यक्रम सुरु हुनै सकेको छैन् । केही अघि निर्वाचन आयोगले बजेट अभाव रहेको गुनासो गरेको थियो ।

विदेशमा रहेका नेपालका कुटनीतिक नियोगमार्फत मतदाता नामावली संकलन गर्ने सरकारको तयारी थियो । सरकारले बजेटमै समेटेपछि निर्वाचन आयोगले पनि यो विषयमा ध्यान दिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा साउन १ गतेबाट विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गर्ने बताउनुभएको थियो । सरकारले बजेटमै समेटेको र आयोगले नै सुरु गर्ने भनेपछि विदेशमा रहेका नेपाली उत्साहित भएका थिए । तर तोकेको समयको दुई महिना पूरा हुँदा पनि यो काम सुरु भएको छैन।

बजेटमा सरकारले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकल गर्ने विषय समेटे पनि बजेट भने विनियोजन गरेको छैन् । यसैकारण आयोगले साउन १ बाट सुरु गर्ने भनेको विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलनको काम असोज १ मा पनि सुरु हुन सकेको छैन् ।

आयोगले पनि सरकारलाई यो विषय अवगत गराएको थियो । विदेशमा रहेका कुटनीतिक नियोगबाट मतदाता नामावली संकलन गर्न आयोगक कर्मचारी त्यहाँ जानुपर्ने हुन्छ । नियोगका कर्मचारीलाई नामावली संकलनको विधि सिकाउन लागि पनि बजेट आवश्यक हुन्छ ।

यदि बजेट भए पूर्व एसियाली देशबाट आयोगले विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलनको काम थाल्ने योजना बनाएको छ । जोसँग नेपाली नागरिकता छ, जो कामका लागि विदेश गएका हुन् र जो अहिले रहेको देशको स्थायी बासिन्दा भएको छैन उनीहरुको नाम मतदाता नामावली संकलन हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *