Main News

सेतो चिनीमा व्यापारीको कालोधन्दा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असोज १ गते २०:४०
सेतो चिनीमा व्यापारीको कालोधन्दा (भिडियो रिपोर्टसहित)

१ असोज २०८० काठमाडौं । जब दशैं, तिहार जस्ता चाडपर्व नजिकिन्छ चिनीको मूल्य अनियन्त्रित बन्छ । अर्थात सेतो चिनीमा व्यापारीले कालोधन्दा चलाउछन् । यो वर्ष पनि त्यस्तै भएको छ ।

दशैं आउनु एक महिना अघि नै एकै पटक व्यापारीहरुले चिनी प्रतिकिलो ३५ देखि ४० रुपैयाँसम्मले बढाएका छन् । तर अहिले बजारमा चिनी पाइन छाडेको छ । व्यापारीले चिनी लुकाएको उपभोक्ताले आरोप लगाएका छन् ।

भदौ २७ गतेसम्म चिनीको खुद्रा मूल्य प्रतिकिलो १ सय ५ रुपैयाँ थियो । तर असोज १ गते चिनीको खुद्रा मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । होलसेल मूल्य नै १ सय २७ देखि १ सय ३० रुपैयाँसम्म रहेको छ । यसरी एकाएक मूल्य बढ्नुको कुनै कारण छैन् ।

नेपालमा उत्पादित चिनीको मौज्दात सकिएको र अन्तर्राष्ट्रिय माग तथा आपूर्तिमा तालमेल नमिल्दा मूल्य बढेको बनिबनाउ जवाफ चिनी व्यापारीहरुको छ । यसको मार उपभोक्ताले खेप्नु परेको छ ।

नेपालमा बार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनी खपत हुन्छ । कुल खपतको आधाभन्दा बढी दशैं, तिहारलगायतका चार्डपर्वको बेला खपत हुने गर्छन । कालाबजारीबाट कमाउन पल्केका व्यापारीले यही मौका छोपेर हरेक वर्ष चिनीको मूल्य मनोमानी बढाउछन् ।

बजारमा कमजोर सरकारी उपस्थितीले कालोबजारी गर्न पल्केका व्यापारीहरुलाई कमाउने गतिलो मौका मिल्ने गर्छ । यसलाई मध्यनजर गर्दै संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर नै बजार अनुगमन गर्ने तयारीमा जुटेको छ।

बजारमा चिनीसँगै अन्य दैनिक उपभोग्य बस्तुको पनि मूल्य आकाशिएको छ । दाल, चामल, गेडागुडी, तेल लगायतका सबैजसोबस्तुको मूल्य ८० देखि शत प्रतिशतसम्म बढाएका छन् । तर नेपाल राष्ट्र बैंकले हिजो प्रकाशन गरेको गत साउन समग्र मूल्य वृद्धि ७ दशमलव ५२ प्रतिशत मात्र छ । बजारको अहिलेको अवस्था हेर्दा तथ्यांक कुनै पनि हालतमा मेल खादैन । यसले बरु उल्टै सरकारी निकायको तथ्यांक माथि प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *