कोशीमा विश्वासको मत : एमाले र एसबीच सहकार्य ! (भिडियो रिपोर्टसहित)

१ असोज २०८० काठमाडौं । कोशी प्रदेशको राजनीति कुनै पनि राजनीतिज्ञ र बुद्धिजीविको सोच भन्दा बाहिर छ । त्यहाँ मध्यावधि हुन्छ वा टर्छ भन्ने भेउ पाउनै मुस्किल छ । हिक्मत कार्की दोस्रो पटक मुख्यमन्त्री बनेपछि शान्त झैँ देखिएपनि राजनीतिक खिचडी पाकिरहेकै छ ।
असोज २० भित्र विश्वासको मत लिसक्नुपर्ने संवैधानिक व्यवस्थाले गर्दा धेरैको चासो बढ्न थालेको छ । नेकपा एमाले पनि एकीकृत समाजवादीलाई फकाएर कार्कीको सरकार जोगाउने योजनामा बुन्न थालेको छ ।
भदौ २२ गते कोशीको मुख्यमन्त्रीमा दोस्रो पटक हिक्मत कार्की नियुक्त हुनुभयो । सर्वोच्चले भदौ २१ मा उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत लिँदा प्रक्रियागत त्रुटि देखाउँदै नियुक्ति बदर गरेपछि कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न प्रदेशप्रमुखका नाममा आदेश जारी गरेपछि कार्की मुख्यमन्त्री बन्नुभएको थियो । तर, मुख्यमन्त्री नियुक्त हुदा संसदीय अंक गणितले भने कार्कीको समयावधि पनि एक महिना मात्रै हुने देखिन्छ ।
असोज २० भित्र विश्वासको मत लिनुपर्ने भएपनि अहिलेसम्म आफ्नो पार्टी र राप्रपा बाहेक कार्कीको पक्षमा मत छैन । अर्थात् विश्वास प्राप्त गर्ने मत एक सिटले अपुग हुनेछ । त्यसैले अहिले एमाले कांग्रेससँग मिलेर भन्दा पनि ४ सिट भएको एकीकृत समाजवादीलाई फकाउन लागिपरेको छ ।
किन एकीकृत समाजवादी ?
गत शनिवार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले हिमालय टेलिभिजनसँग कुराकानी गर्दै दिनुभएको यो अभिव्यक्ति सुन्नुहोस् ।
खनालकै भनाइको अर्थ पर्गेल्ने हो भने कोशीमा नेकपा एस एमालेलाई मत दिन तयार छ । तर, एमालेले त्यसका लागि पहल भने गर्नुपर्ने उहाँको आशय हो । खनालको बोलीलाई धेरैले नपत्याएपनि भदौ २६ पछि भने यो भनाइप्रति कोशीका एस सांसद गम्भीर बनेका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ ।
कम्युनिष्टको पकड भएको उक्त क्षेत्रमा गठबन्धन गरेपनि उम्मेदवारले जित्ने सम्भावना न्यून छ । नेम्वाङप्रतिको सेन्टिमेन्टका कारण त्यहाँ एमालेकै उम्मेदवारले जित्न सक्छन् । तर, त्यो क्षेत्रमा यदी झलनाथ उठेमा एमालेको सहयोगबाट जित्न सक्नेछन् । नेकपा एसको सिट पनि बढ्ने खनालको बढ्दो पार्टीभित्रको गुनासो कम हुने धेरैलाई लागेको छ ।
अहिले माधव नेपाललाई फकाएर यसैमा सहमति जुटाउने प्रयास स्वरुप एस र एमाले नेता काठमाडौँ धाउन थालेका छन् । यदि एमाले र एसबीच यो विषयमा समझदारी जुटेमा कोशीमा कार्कीको सरकार निश्चित हुनेछ । जसको छनक केही समय अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले एसकै मत तानेर कार्कीको सरकार कोशीमा पाँच वर्ष चल्ने दावी गर्नुभएको थियो ।
होइन भने संविधानको धारा १५८ को उपधारा ५ अनुसार कुनै एक सांसदले बहुमत सिद्ध गर्ने मौका पाउनेछ । अहिले राप्रपा कोशीको राजनीतिक त्यो उपधारामा पुगोस् भन्ने चाहनामा छ । त्यो भएको खण्डमा आफ्नो नेतृत्वमा सरकार बनाउन सकिनेछ । तर, सत्ता गठबन्धन र एमाले त्यो उपधारा प्रयोग गर्ने पक्षमा छैनन् । यदी उक्त उपधारा प्रयोग भए सांसदलाई ह्वीप लाग्दैन । यदी त्यो पनि नभए कोशी मध्यावधिमा जानेछ । अहिलेको अवस्थामा मध्यावधि टार्नुनै उत्तम विकल्प हो ।
प्रतिक्रिया