Main News

कोशीमा हिक्मत कार्कीलाई विश्वासको मत दिन एकीकृत समाजवादी तयार ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ ३० गते २०:४२
कोशीमा हिक्मत कार्कीलाई विश्वासको मत दिन एकीकृत समाजवादी तयार ! (भिडियो रिपोर्टसहित)

३० भदौ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई साथ दिने संकेत गरेको छ । मध्यावधि टार्न र पार्टी एकताको शुरुवातका लागि एमाले लचक बन्दै सार्थक पहल गरे सहकार्यको ढोका खुल्नसक्ने संकेत सम्मानित नेता झलनाथ खनालले गर्नुभएको छ ।

असार १४ गते हालका मुख्यमन्त्री हिक्मत कार्कीले पहिलो कार्यकालको दोस्रो पटक विश्वासको मत लिंदै गर्दा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईको भाषण हो यो । राईले आफूहरूलाई नेकपा एमाले छाड्न मन नहुँदा नहुँदै पनि हेपिएको र पेलिएको कारण छाड्न बाध्य भएको बताउँदै अहिलेपनि नेकपा एमालेकै नाममा भाषण गरिरहेको सपना आफूले देख्ने गरेको पनि बताउनुभयो ।

उहाँले एमाले र एसको एकीकरण भए कार्कीलाई मत दिन समस्या नहुने समेत भन्न भ्याउनुभयो । तर मत नपाएपछि कार्कीको सरकार ढल्यो र उद्धव थापा नेतृत्वमा सरकार बन्यो । संविधान बर्खिलाप हुने गरी थापाको सरकार बनेपछि सर्वोच्चले एकपटक उल्ट्याइदियो भने अर्को पटक विश्वासको मतको प्रक्रियामा त्रुटि देखेपछि अदालतले थापा सरकारलाई हटाइदियो ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ ९३० बमोजिम भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएको दिन कार्कीले सबै दलसँग विश्वासका लागि पहल गर्ने बताउनुभयो । तर उहाँलाई विश्वासको मत प्राप्त हुने कुनै आधार तय भइसकेको छैन ।

यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले असोज २२ भित्रमा कार्कीले विश्वासको मत पाउने दाबी गर्दै आउनुभएको थियो । पछिल्लो पटक नेकपा एमाले र विद्रोही समाजवादीका नेताबीच बाक्लो हिमचिम छ । अध्यक्ष ओलीकै चाहनामा उपाध्यक्ष विष्णु पौडेलले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालमार्फत् सहकार्यको प्रस्ताव गरिरहनुभएको छ ।

कोशीमा सरकार जोगाउन ४७ सिट आवश्यक पर्छ । एमालेको ४० र राप्रपाको ६ सिट हुँदा एक सिट पुग्दैन । एकीकृत समाजवादीको ४ सिट छ । यस्तोमा एमालेले गर्ने प्रयास निर्भर रहने एकीकृत समाजवादीको भनाइ छ । यदी ओलीले आफु सच्चिएको र दीर्घकालिन सहकार्यको प्रस्ताव गरे कोशीमा कार्कीलाई विश्वासको मत दिन समाजवादी तयार देखिन्छ ।

पानी बाराबारको अवस्थामा रहेका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष नेपालबीचको सम्बन्ध सुधारका लागि जुँगा बाधक भए अब कार्यकर्ताले खौरिदिने अवस्था आउने भन्दै सम्मानित नेता खनालले कम्युनिष्ट आन्दोलन जोगाउन र एकताको शुरुवात गर्न कोशी कोशेढुंगा हुने तर्क गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *