Main News

सहकर्मी कुटिएको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित, बिरामी मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० भदौ २९ गते २०:३९
सहकर्मी कुटिएको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित, बिरामी मारमा (भिडियो रिपोर्टसहित)

२९ भदौ २०८० काठमाडौं । कुनै पनि अत्यावश्यक सेवा आफ्नो स्वार्थ पूर्तिका लागि बन्द गर्नु वा ठप्प पार्नु गैरकानूनी मानिन्छ । तर, गत बुधबार मकवानपुरस्थित सन्चो अस्पतालका दुई चिकित्सक बिरामीका आफन्तबाट कुटिएपछि आज देशभरका अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

प्रहरीले चिकित्सक कुट्नेलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाए पनि नेपाल चिकित्सक संघले आफ्नो उपस्थिति देखाउने नाममा स्वास्थ्य सेवा ठप्प पारेको छ । चिकित्सक कुटिनुले राज्यको सुरक्षा प्रणालीमा प्रश्न गरेको पक्कै हो । तर कारवाही गर्ने नाममा लाखौँ बिरामीलाई सेवाबाट बञ्चित बनाउने चिकित्सक र मातहतको संघको प्रवृत्ति कानूनी रूपमा गलत हो ।

गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ सन्चो अस्पतालका चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । साउन २२ मा हेटौँडा उपमहानगरपालिका १२ स्थित पदमखोपरीका ४१ वर्षीय राजेश प्रधानले अस्पतालमा डेंगु परीक्षण गर्दा पोजेटिभ देखियो । डाक्टरले आराम गर्न घर पठाएका थिए । स्वास्थ्य बिग्रिएपछि प्रधान सोही अस्पतालमा भर्ना भए । तर, चिकित्सकले प्रधानलाई थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिदिए ।

त्यसको दुई दिनपछि प्रधानको मृत्यु भयो । उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकका परिवारले चिकित्सकमाथि कुटपिट गरे । नियमित रुपमा उपचार प्रक्रियालाई इमान्दारीपूर्वक पालना गरी थप सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको विरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी चिकित्सकहरुलाई नै हातपात गर्ने जस्तो अस्वभाविक र अमानवीय घटनाप्रति चिकित्सक संघले आपत्ति जनाउँदै शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकको उपचार ठप्प पारिएको छ ।

तर, नेपाल चिकित्सक संघले जुन माग राखेर सेवा ठप्प पारेको छ । त्यो जायज छैन । संघले कुटपिट गर्नेलाई तत्काल कारवाही गर्न भनेको थियो । तर, कुनै पनि विषयको अनुसन्धान अघि बढाउने निश्चित समय हुन्छ । घटनाकम संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले बिहीबार नै पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा अनुप प्रधान, रोहित प्रधान, रमा प्रधान र रमिता प्रधान छन् । प्रहरीले कानूनी कारवाही अघि बढाउँदै छ। अनुसन्धान विना कुनै पनि घटनामा दबाबकै भरमा मुद्दा चलाउन मिल्दैन । तर, चिकितसक संघले भने किटानी जाहेरी परेकाले कारवाही गर्न अल्टिमेटम दिँदै सेवा बन्द गरेको हो ।

अस्पतालमा हड्ताल गरे के हुन्छ ?
–अत्यावश्यक सेवा सञ्चालन ऐनअन्तर्गत निषेध गरिएको कुनै हडताल कसैले गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई छ (महिनासम्म कैद वा २ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था
–आवश्यक भनिएका कुनै सेवामा हड्ताल गर्न वा त्यसमा भाग लिइराख्न दुरुत्साहन गरेमा निजलाई एक वर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने
–कुनै हड्तालको निमित्त कुनै व्यक्तिले जानीजानी कुनै नगदी सहायता दिएमा निजलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुबै सजाय हुने

तर, हालसम्म चिकित्सक संघ र चिकित्सकलाई यस्तो कुनै कारवाही भएको छैन । पछिल्ला दिनहरुमा अस्पतालमामा बढ्दै गइरहेको अराजकता र भिडले निर्णय गर्ने प्रवृतिले स्वास्थ्य सेवा प्रवाहमा असर देखिन थालिसकेको छ । कानुनी बाटोको सट्टा चिकित्सक र स्वास्थ्यकर्मी माथिको दुव्र्यवहार, अस्पताल तोडफोड र पैसाको मोलमोलाईले स्थितिलाई थप जटिल बनाउँछ नै ।

कार्यक्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाको प्रत्याभूतिको जिम्मा सरकारले लिनुपर्छ । यदि विरामीको उपचारमा रहेको बेला चिकित्सक र स्वास्थ्यकर्मी माथि दुव्र्यवहार, हुलदंगा, तोडफोडमा उत्रिने जोकोहीलाई पनि विना धरौटी जेल चलानको व्यवस्थालाई कार्यान्वयन गर्नु पर्छ नै । तर चिकित्सकले माग सम्बोधनका नाममा अन्य बिरामीलाई समस्या पर्ने गरी सेवा ठप्प पार्नु चाहिँ गलत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *