Main News

विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता

हिमालय टिभी
२०८० भदौ २७ गते १३:०७
विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता

२७ भदौ २०८० काठमाडौं । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले आज संसद्‍मा विधेयक दर्ता गर्नु भएको हो । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न शिक्षा ऐन संशोधन विधेयक दर्ता भएको छ ।

विधेयक मन्त्रिपरिषद्ले १ महिना अघि नै दर्ता गर्ने निर्णय गरे पनि स्वार्थ समूहको दबाबमा पुनः संशोधन गरी दर्ता भएको हो । नयाँ विधेयकमा विद्यालय तह स्थापना, सञ्चालन र तह थपको अनुमति दिने अधिकार स्थानीय तहलाई दिएको छ । तर विद्यालयको नक्सांकनमा आवश्यकता पहिचान नभएको, स्रोत र शिक्षकको सुनिश्चितता नभएका विद्यालयलाई भने अनुमति दिन नसकिने प्रावधान छ ।

त्यस्तै विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए पनि निजी विद्यालय सञ्चालकले विरोध जनाएका थिए ।

त्यसपछि यसलाई ऐच्छिक बनाइएको हो । विधेयकमा माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ ।

अहिले अध्यापन गराइरहेका ४४ हजार राहत शिक्षकको मागलाई पनि विधेयकमा छ । त्यस्ता शिक्षकले आन्तरिक परीक्षा दिन पाउने र अनुत्तीर्ण भए निश्चित रकम लिइ विदा पाउनेछन् । शिक्षकमा विशिष्ट श्रेणी राख्ने प्रस्ताव गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकबाट मात्रै छनोट गर्न पाउने प्रावधान पनि राखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *