६० किलो सुन तस्करी प्रकरणः प्रतिवेदन बुझाउँदै सीआईबी
२६ भदौ २०८० काठमाडौं । ६० किलो सुन प्रकरणमा अनुसन्धान सुरु भएको ५५ दिनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आज आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सीआईबीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । एलेक्स भनिने चिनियाँ नागरिक याओ फुचेनलाई मुख्य कारोबारी र तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङलाई अवैध सुन गन्तव्यसम्म पुर्याउने मुख्य व्यवस्थापक किटान गरेको छ ।
सीआईबीले ब्रेक सुको आवरणमा लुकाई भन्सार जाँचपासपछि बरामद भएको सुनलाई बजार मूल्यअनुसार आउने रकम बिगो कायम गरेर संगठित अपराध, राजस्व र भन्सार छली र नेपाल राष्ट्र बैंक ऐनविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।
सीआईबीका अनुसार चिनियाँसहित ९ विदेशी र २१ नेपालीलाई मुद्दा चलाउने गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गर्ने भएको छ ।
प्रकरणमा भने मुख्य अभियुक्त किटान गरिएका एलेक्सलाई राजनीतिक, प्रशासनिक र अन्य संयन्त्रसँग सम्पर्क सम्बन्ध बनाउने भूमिका दावा छिरिङले खेलेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
गत साउन ३ गते भन्सार जाँचपास पार गरी सिनामंगल सडकमा पुगिसकेको अवस्थामा राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको संयुक्त टोलीले अवैध सुन बरामद गरेको थियो ।
राजस्व छली र भन्सार चोरी र पैठारीको कसुरमा विभागबाट अनुसन्धान अघि बढाइएकामा संगठित अपराधका समेत दफा लगाएर थप अनुसन्धान गर्न साउन २१ मा सीआईबीलाई जिम्मा दिइएको थियो ।
प्रतिक्रिया