गाई-गोरु बध गर्न पाउने कानुन बनाउन सत्तारुढ सांसदले माग गरेपछि… (भिडियो रिपोर्टसहित)
२० भदौ २०८० काठमाडौं । गाई बधको विषयले गर्माएको धरानको वातावरण अझै शान्त भएको छैन । हिन्दूहरुले गौ बधको विरोधमा धरान केन्द्रित कार्यक्रम आयोजना गरेपछि त्रसित धरान विस्तारै पुरानो लयमा फर्कँदैछ । तर, सोही विषयले अहिले संसदीय समितिमा समेत प्रवेश पाएको छ ।
मंगलबार राज्य व्यवस्था समितिको बैठकमा माओवादी सांसद दुर्गा राईले आफ्नो संस्कृति अनुसारको पर्व मनाउन गाई गोरु बध गर्न पाउने कानुन बनाउन माग गर्नुभयो ।
सांसदहरुलाई थाहा हुनुपर्ने हो, कुनै पनि देशको राष्ट्रिय जनावरको संरक्षण गरिन्छ । धर्मनिरपेक्ष देश नेपालमा गाई हिन्दु धर्मको प्रतिक भएर होइन, राष्ट्रिय जनावर भएकाले संरक्षित छ । उसो त राष्ट्रिय जनावर के राख्ने ? गाई कि एक सिंगे गैँडा भन्ने पर्याप्त बहस संविधानसभामा भएकै हो । गाईलाई राष्ट्रिय जनावर बनाउनुहुँदैन भन्दै संविधानको मस्यौदा विधेयकमा परेको संशोधन बहुमतले अस्वीकार गरेको थियो । त्यसपछि संविधानसभाले राष्ट्रिय जनावर गाई नै रहने गरी संविधानको विधेयकको धारा पारित गर्यो । अहिले पुनः त्यही विषय किन उठिरहेको छ त ?
संविधानअनुसार चलेको देशमा संविधानमा नगर्न भनेको काम गर्नु अपराध मानिन्छ । राष्ट्रिय जनावर गाईको बध गर्नु संवैधानिक रुपमै बर्जित छ । कानुनमा गौबध सम्बन्धी ब्यबस्था एकपटक हेरौं । मुलुकी अपराध संहिता ऐन २०७४ ले गौहत्यालाई फौजदारी अपराध स्वीकारी दण्डनीय बनाएको छ। ऐनको परिच्छेद २७ मा पशुपक्षीसम्बन्धी विभिन्न कसुरलाई अपराध मानिएको छ ।
सोही परिच्छेदको दफा २८९ मा आफ्नो प्रतिरक्षामा बाहेक गाई,गोरु मार्न वा कुटपिट गर्न नहुनी भनी कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गरेमा वा गर्न लागि सो कार्यबाट गाई वा गोरु मर्न गएमा सो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद सजाय हुने उल्लेख छ । सोही दफाले गाई वा गोरुलाई कुटपिट वा अंगभंग पार्नेलाई ६ महिनासम्म कैद र अरू चोट पुर्याउनेलाई ५० हजारसम्म जरिवाना हुने सजाय तोकेको छ ।
विश्वमा विभिन्न मुलुकमा निश्चित जनावरहरु हत्या गर्न या उनीहरुको शिकार गर्न या मासु खान समेत वर्जित छ ।
दक्षिण एसियाली देश
भारत – गाई, गौवंश
श्रीलंका– गाई–गौवंश
इन्डोनेसिया – कुकुर र बिरालो
मलेसिया – कुकुर र बिरालो
अफगानिस्तान – सुंगुर
पाकिस्तान – सुंगुर
बंगलादेश – सुंगुर
माल्दिभ्स – सुंगुर
फेरि प्रश्न उठेको छ–के राइलिम्बुहरुमा परम्परागतरुपमै गाइगोरुको बध गर्ने परम्परा छ त ? राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त किराँत धर्ममा मांसहार नै वर्जित रहेको बताउनुभएको छ। त्यसो भए के का लागि यतिबेला यो माग सडकबाट संसदमै प्रवेश गरेको हो त ?
उसो त २०७२ सालभन्दा अघिसम्म नेपाल हिन्दु राष्ट्र थियो । २०७२ असोज ३ मा जारी संविधानपछि नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएको छ । जसलाई बहुसँख्यक हिन्दुहरुले धोकाधडी रुपमा हिन्दु राष्ट्र हटाइएको बताउँदै आएका छन् । पछिल्लो जनगणनाअनुसार नेपालमा हाल ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्छन् ।
हिन्दुहरुले गाईलाई लक्ष्मीका रुपमा पूजा गर्छन् । जब गाईको विषय आउँछ हिन्दुहरुले आफ्नो आस्थामाथि प्रहारको रुपमा लिने गरेका छन् । संविधानमा हिन्दुहरुको आस्था गाई बध गर्न पाउने व्यवस्था राख्न पाउनुपर्छ भन्ने हो भने नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने माग पनि सँगै उठ्ने पक्का छ । त्यस्तो अवस्थामा अहिले गाई बधको विषय उठाउनेहरु जनमत संग्रहका लागि तयार होलान् ?
प्रतिक्रिया