Main News

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण

हिमालय टिभी
२०८० भदौ २० गते १४:४६
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण

२० भदौ २०८० काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ ।

भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि खुकुरी प्रहार भएको छ ।

यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई बालाजुको पैंयुटार बस्ने ४७ वर्षीय श्यामबहादुर सापकोटालाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका सापकोटाले रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा अघिल्लो लहरमा नै बसेर यादवको भाषण सुनेका थिए । कार्यक्रम सकिएपछि यादवलाई पछ्याउँदै आएर सापकोटाले खुकुरी हानेको रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले जानकारी दिनुभयो ।

पक्राउ परेका सापकोटाले आफूलाई अभियन्ता भन्ने गरेका छन् । रिपोर्टर्स क्लबको कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललितानिवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राख्नु भएको थियो । खुकुरी प्रहारबाट घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यसैबीच, नेपाली कांग्रेसले यादवमाथि भएको आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ । कांग्रेसले आक्रमण गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *