Main News

भारतमा बिजुली बेच्न प्राधिकरणले पायो अनुमति

हिमालय टिभी
२०८० भदौ २० गते १३:५१
भारतमा बिजुली बेच्न प्राधिकरणले पायो अनुमति

२० भदौ २०८० काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ११० मेगावाट विद्युत भारतमा बिक्री गर्न अनुमति पाएको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय विद्युत प्राधिकरणले नेपालको विद्युत प्राधिकरणलाई २ जलविद्युत आयोजनाको ११० मेगावाट बिजुली ५ वर्षसम्म बिक्रीका लागि अनुमति दिएको हो । यससँगै आगामी पाँच वर्षसम्म वर्षायामको बिजुली भारतीय बजारमा निर्बाध बिक्री हुनेछ  ।

नेपाल विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौतामार्फत १ सय १० मेगावाट र प्रतिस्पर्धी बजारमा थप ७० मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको हो । मध्यकालीन पाँचवर्षे विद्युत् खरिद बिक्री सम्झौता पीपीएमार्फत ११० मेगावाट बिक्रीको अनुमति पाएपछि बुधबारबाट निर्यातको तयारी थालेको प्राधिकरणले जनाएको छ ।

तीन प्रतिशत हाराहारीमा प्रसारण लाइन चार्ज कटाएर साहस ऊर्जाले निर्माण गरेको ८३ दशमलव ४२ मेगावाट क्षमताको सोलुखोला दूधकोशी र हिमालयन पावर पार्टनरले निर्माण गरेको २६ दशमलव १९ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाको बिजुली मध्यकालीन सम्झौताअन्तर्गत पाँच वर्ष बिक्रीको अनुमति पाएको हो ।

भारतको एनटीपीसी विद्युत व्यापार निगम एनभीभीएनले विद्युत भारतको हरियाणाका विद्युत वितरण कम्पनीलाई बिक्री गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअगाडि नै प्राधिकरण र एनभीभीएनबीच ५ वर्षसम्म वर्षायाममा २ सय मेगावाटसम्म विद्युत खरिद बिक्रीका लागि सम्झौता भएको थियो ।

विद्युत ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट भारत जाने भएको छ । प्राधिकरणले जुलाइ १० मा ५ वटा जलविद्युत आयोजनाको २ सय मेगावाट विद्युत ५ वर्षसम्म बिक्रीका लागि स्वीकृतिका लागि पेश गरेको थियो । त्यसमध्ये २ वटाको मात्रै अनुमति दिएको हो ।

पछिल्लो सम्झौता मध्यमकालीन भएको र अब हरेक वर्षायाममा नेपालबाट भारतमा बिजुली निर्यात निश्चित गरिएको समेत प्राधिकरणको भनाइ छ । पहिलो वर्ष ५ सेप्टेम्बरदेखि ३१ अक्टोबरसम्म र त्यसपछिको चार वर्षका लागि भने जुन १ देखि अक्टोबर ३१ सम्म बिजुली निर्यात हुने भएको छ ।

यसअघि ४५२ मेगावाट बिजुली भारतमा बिक्री भइरहेको छ । भारतले नेपालको १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *