Main News

सुन तस्करी प्रकरणमा उच्च राजनीतिक व्यक्तित्वकै संलग्नता, दिपेश पनि जोडिए (भिडियो रिपोेर्टसहित)

हिमालय टिभी
२०८० भदौ २० गते ७:४६
सुन तस्करी प्रकरणमा उच्च राजनीतिक व्यक्तित्वकै संलग्नता, दिपेश पनि जोडिए (भिडियो रिपोेर्टसहित)

२० भदौ २०८० काठमाडौं । राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार गेट अघिबाट ६० किलो सुन बरामद गरेको आज ४९ दिन पुग्यो । सीआइबीले अनुसन्धान सुरु गरेको पनि आज ३० दिन भयो । संगठित अपराधमा अनुसन्धान गरी ६० दिन भित्रै मुद्दा अभियोजन गर्नु पर्ने भएकाले सीआइबी दबाबमा छ ।

जति दिन नजिकिँदै गयो त्यति नै राजनीतिक कनेक्सन भेटिन थालेको छ । तर, हालसम्म मुख्य नाइके देखिएका दावासँग कनेक्सन भएका पात्र र उनीसँग विभिन्न व्यक्तिले गरेका कुराकानीलाई भने नजरअन्दाज गरिएको छ ।

साउन ३ गते विमानस्थलबाहिरबाट नियन्त्रणमा लिइएको सुन प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी, भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेललाई मंगलबार सोधपुछ गरेको छ ।

यस प्रकरणमा ठमेलस्थित भियाना होटलबाट पक्राउ परेका दावासँग साँठगाठ गरेको भेटिएपछि पुनलाई सीआइबीले बोलाएको थियो । सीआइबीका अनुसार पुनको समेत दावा र सुन तस्करीमा पक्राउ परेका अन्य चिनियाँसँग सिधासम्पर्क देखिएको छ । उनलाई बोलाएको बेला आउने सर्तमा कागज गराएर छोडिएको छ ।

यस्तै, अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारीलाई सीआईबीले सामान्य सोधपुछ गरेको छ । दावासँग विच्याटमा अधिकारीले गरेको संवाद सार्वजनिक भएको थियो । अधिकारी र दावाबीच धेरै पैसाको ठुलो कारोबारको कुरा खुल्न आएको थियो । दावाको गोदाममा भेटिएको पानी तान्ने मोटरको तस्वीर र कागजात समेत कुराकानी भएको थियो ।

दावा–अधिकारी कनेक्सन सार्वजनिक भएपछि गृहमन्त्रालयले अध्यागमनबाट फिर्ता बोलाएको थियो । गृहमन्त्री र प्रधानमन्त्रीका नजिकका पात्र अधिकारीलाई पनि सामान्य सोधपुछ गरी बोलाएका बखत उपस्थित हुने कागज गराएर छाडिएको छ । सार्वजनिक भएको प्रमाणलाई आधार मान्ने हो भने अधिकारीसँग सामान्य सोधपुछ नभई हिरासतमा लिएर अनुसन्धान गर्न सकिन्छ । तर, बोलाएको बेला आउने गरि दबाबमा छाडिएको हुन सक्ने आशंका गरिएको छ ।

यस्तै, सीआईबीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तात्कालिन प्रमुख अरुण पोखरेल र सुन प्रकरणको कनेक्सनलाई नजरअन्दाज गर्दै सामान्य सोधपुछ मात्रै गरेको छ । जबकी पोखरेल यसअघिको ९ किलो सुन प्रकरणमा पनि जोडिएका व्यक्ति हुन् ।

अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका पोखरेल त्यसपछि दुई महिना लामो बिदामा बसेका थिए । तर, उनी बाहिरिएको १५ दिनपछि विमानस्थल भन्सार बाहिरबाट ६० किलो सुन बरामद भएको थियो । उक्त सुन आयातकर्ता रेडी ट्रेडर्सले उनै पोखरेल कार्यालय प्रमुख भएको समयमा २३ पटकसम्म सामान भित्र्याएको छ ।

जसमध्ये ११ पटक ‘बेक्र शु मात्रै ल्याएको छ भने ११ पटक दारी काट्ने मेसिन र १ पटक पानी तान्ने मोटर ल्याएको छ । जसमध्ये राजश्व अनुसन्धान विभागले टोखा फ्याक्ट्रीमा छापा मार्दा रेडी ट्रेडर्सले सुन सहित भित्र्यााएको मोटर भेटिएको थियो भने सोह्रखुट्टेस्थित गोदाममा छापा मार्दा सुन निकालिएको ब्रेक शु भेटिएको थियो । तर, यसलाई पनि सीआईबीले ख्याल गरेको पाइँदैन ।

सुन तस्करीका नाइके भनिएका दावा छिरिङसँग वी–च्याटमा नियमित संवाद भएका नेता, प्रहरी, सरकारी अधिकारीदेखि व्यापारीहरुका विषयमा भने अनुसन्धान नै सुरु गरेको छैन । अहिले अनुसन्धान गरिरहेका अधिकारीहरुका अनुसार दावाको मोवाइल फोनको फरेन्सिक रिपोर्टमा उच्च पदस्थहरुसँग गोप्य संवाद भेटिएका छन् । यही प्रकरणमा पूर्व प्रहरी उच्च अधिकारीदेखि विभिन्न राजनीतिक दल निकट व्यक्तिहरुको कनेक्सन देखिएको छ ।

पछिल्लो अनुसन्धानले तेस्रो मुलुकबाट विभिन्न वस्तुमा लुकाएर आयात हुने तस्करीको सुन पगाल्न दावाको श्रीमतीको नाममा रहेको सामाखुसीको ‘भियाना मल्टीप्रपोज ग्रुप’ मा वर्षमान पुनका भाई प्रनिश पुन मगरको ३० लाख रुपैयाँको ३० हजार कित्ता शेयर रहेको खुलेको । यसले पनि यो सुन प्रकरणको नेक्सस एकदमै ठूलो रहेको प्रष्ट छ । दिनप्रति दिन राजनीतिक कनेक्सन देखिँदा पनि अनुसन्धान सुस्त हुनुले यो प्रकरण हात्ती आयो हात्ती आयो फुस्सा हुने हो की भन्ने संशय पैदा हुन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *