Main News

एमाले अध्यक्ष ओलीको शक्ति क्षयीकरण हुँदै (भिडियो रिपोेर्टसहित)

२०८० भदौ २० गते ७:४३
एमाले अध्यक्ष ओलीको शक्ति क्षयीकरण हुँदै (भिडियो रिपोेर्टसहित)

२० भदौ २०८० काठमाडौं । चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट शक्तिशाली भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको शक्ति क्षयीकरण हुँदै गएको छ ।

लुम्बिनी प्रदेश कमिटीमा ओलीको निर्देशन अवज्ञा हुनु, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय गराउन खोज्नेहरुको दौडधुप बढ्नु लगायत ओलीको शक्ति कम हुँदै जानुको संकेत हो ।

२०७१ सालमा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई पराजित गर्दै एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभयो । पार्टीको नेतृत्वमा पुगेपछि ओलीको शक्ति बढ्दै गयो भने नेपाल कमजोर बन्दै जानुभयो । पार्टीमा ओलीको नै एकल निर्णय हावी हुँदै गयो । २०७५ सालमा माओवादी केन्द्रसँग एमालेको एकीकरण पश्चात पनि ओली शक्तिशाली नै हुनुहुन्थ्यो ।

सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए भने एमालेमा रहेको नेपाल(झलनाथ खनाल पक्षले पार्टी विभाजन गरेर नेकपा एकीकृत समाजवादी गठन गर्‍यो । पार्टीबाट आफ्ना विरोधीहरु नै बाहिरिएपछि ओलीले आफूलाई सर्वेसर्वा नै ठान्न थाल्नु भयो । अर्थात ओली नै एमाले र एमाले नै ओली भने जस्तो हुन थाल्यो ।

चितवनमा सम्पन्न दशौं अधिवेशनमा त ओलीले सर्वसम्पत्तिका नाममा आफूलाई अध्यक्ष घोषणा गर्दै सिंगो कमिटी नै घोषणा गर्नुभयो । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि भने निर्वाचनको नाटक मञ्चन गरियो, अध्यक्षमा ओली नै निर्वाचित हुनुभयो । त्यसपछि पार्टीमा ओलीले जे चाहानु हुन्छ त्यो नै लागू हुने अवस्था बन्दै गयो ।

एक प्रकारले पार्टीमा कुनै गुट थियो भने ओली गुट मात्रै थियो । तर अहिले अवस्था त्यस्तो रहेन, नेपाल(खनाल लगायतका नेताले नयाँ पार्टी खोले पनि एमालेमा गुट अन्त्य भएन । बरु नयाँ रुपमा झाँगिदै गएको छ । ओलीकै पक्षमा रहेका दोस्रो तहमा रहेका नेताहरुकै बीचमा गुटको अभ्यास शुरु भएको छ । बुटवलमा लुम्बिनी प्रदेशको अधिवेशनको उद्घाटन गर्दै सहमतिमा नेतृत्व चयनका लागि अध्यक्ष ओलीले निर्देशन दिनुभयो ।

तर ओलीको निर्देशन कार्यान्वयन भएन । ओलीको निर्देशन पालना नहुनुको कारण महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीचको प्रतिष्ठाको लडाईं भनिएको छ । दुवैको गुटबन्दीका कारण सहमतिमा नेतृत्व चयन भएपछि उपाध्यक्ष पौडेल पक्षबाट प्रदेश कमिटी अध्यक्षका लागि राधाकृष्ण कँडेलको उम्मेदवारी पर्यो भने महासचिव पोखरेलको तर्फट अध्यक्ष पदमा हरि रिजालको उम्मेदवारी दिनुभयो ।

ओलीको शक्ति पार्टीमा क्षयीकरण बन्दै गरेको उदारण अर्को पनि छ । केही समय अघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पर्किन नदिन अनेक उपाय लगाएका ओलीले नसकेपछि आफ्नै बोली फेर्न बाध्य हुनुपर्यो ।

पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन चाहेमा पार्टीमा स्वागत गर्न आफू तयार रहेको ओलीको भनाइ छ । उपाध्यक्ष पौडेल लगायतका नेताहरुको भण्डारीलाई बलियो साथ रहेको जानकार बताउँछन् । तर पार्टीमा ओली कमजोर बन्दै गएको पदाधिकारीहरु नै अस्वीकार गर्छन । लुम्बिनी प्रदेशमा प्राविधिक कारण मात्रै निर्वाचन भएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको तर्क छ ।

विगतमा ओलीले बोलको कुरा अकाट्य जस्तै हुन्थ्यो । कसैले प्रतिवाद गर्ने आट नै गर्दैनथे । तर लुम्बिनी प्रदेशबाट ओलीको निर्देशन अवज्ञाको शुरुवात भएको ठानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *