मेयर बालेन्द्र साह : आफ्नो अभिव्यक्ति फिर्ता लिन बाध्य (भिडियो रिपोर्टसहित)

१८ भदौ २०८० काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र महानगरपालिकाबाट जारी गरेको विज्ञप्तिलाई लिएर आलोचना भइरहेका बेला संघीय सरकारलेसमेत बालेनको कदममा आपत्ति जनाएको छ । यी घटनाक्रमले बालेनलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन बाध्य पारेका छन् ।
शनिबार राति काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सिंहदरबारमा आगो लाइदिने धम्की दिएको बिषय अहिलेसम्म सेलाउन सकेको छैन् । अझ उहाँले महानगरपालिकाको लेटर प्याडमा आफ्नो सचिवालयका तर्फबाट विज्ञप्ती जारी गर्न लगाएर ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि नै गंभीर लाल्छना लगाउनु भयो ।
आइतबार साहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उहाँकी पत्नी सविना काफ्लेमाथि प्रहरीबाट र्दुव्यवहार भएको दाबी मात्रै गरिएको छैन्, डिउटीमा खटिएका प्रहरीले मादक पदार्थ सेवन गरेको आरोप लगाइएको छ । सामाजिक सञ्जालमा बालेनको स्टाटस र विज्ञप्तिपछि संघीय सरकारको तर्फबाट काठमाडौं जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गरेर साहलाई सचेत गराएको छ ।
साथै जिल्ला प्रशासनले कुनै गुनासो भए तथ्यप्रमाण सहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारी समक्ष जानकारी गराउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले डिउटीमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकोप्रति गंभीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीको कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउन र सामाजिक सञ्जालमा जथाभावी बक्तव्यबाजी नगर्न पनि प्रशासनले चेतावनी दिएको छ। यति मात्र होइन कानुनको बर्खिलाप हुने गरी गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभुत गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय प्रतिवद्ध रहेको जनाउँदै साहलाई आवश्यक परेमा कानुनी दायरामा ल्याउन सक्ने चेतावनी जिल्ला प्रशासनको छ ।
महानगर प्रमुख बालेनले सिंहदरबारमा आगो लाउने धम्की र प्रहरीमाथि लाञ्छना लगाउने कार्यपछि जिल्ला प्रशासन कडा रुपमा प्रस्तुत भएको देखिन्छ ।
अर्कोतर्फ बालेन पत्नी सविना काफ्ले सवार गाडीलाई नियमित सुरक्षा जाँचका क्रम्मा झण्डै दुई मिनेट मात्रै रोकिएको प्रहरीको भनाइ छ ।
कुनै किसिमको दुर्व्यवहार नभएको र आफ्ना कर्मचारीबाट मादक पदार्थ सेवन गरेको भन्ने आरोप अस्वीकार गर्दै आवश्यक परेमा सिसीटिभी फुटेज सार्वजनिक गर्ने पनि प्रहरीको तयारी छ । शनिबार वा सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्नुपर्ने भए अनुमति लिनु पर्नेमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख साहको पत्नी सविना काफ्लेले अनुमति विना सरकारी गाडी प्रयोग गरेको पनि जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।
सुरक्षाकर्मी र ट्राफिक प्रहरीले आवश्यक परेको खण्डमा जुनसुकै समयमा सवारी साधनको जाँच गर्नुका साथै आवश्यक सोधपुछ गर्ने अधिकार रहेको प्रशासनले स्पष्ट पारेको छ ।
महानगरप्रमुख साहले आफ्नो स्टाटसको बचाउमा महानगरपालिको लेटरप्याड प्रयोग गरेर विज्ञप्ति जारी गर्नु भएकोमा पनि प्रश्न उठेको छ भने साहका लागि उपलब्ध गाडी उहाँकी पत्नीले नीजि कामका लागि प्रयोग गर्न पाइने कि नपाइने भन्ने प्रश्न पनि उठेको छ । आफ्नो भनाइलाई लिएर चौतर्फी विरोध भएपछि बालेनले आफ्नो स्टाटस भने हटाउनु भएको छ । विगतमा कतिपय अभिव्यक्तिलाई लिएर बालेन साहको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया