Main News

नाम मात्रको मुख्यमन्त्री सम्पर्क कार्यालय (भिडियो रिपोर्टसहित)

२०८० भदौ १८ गते १८:१५
नाम मात्रको मुख्यमन्त्री सम्पर्क कार्यालय (भिडियो रिपोर्टसहित)

१८ भदौ २०८० धनकुटा । कोशी प्रदेशका पहाडी जिल्लामा विकास आयोजनाको काम प्रभावकारी रुपमा कार्यान्वयन गर्न २०७६ साल वैशाखमा धनकुटामा मुख्यमन्त्री सम्पर्क कार्यालय स्थापना गरियो । तर खोलिएका कार्यालयबाट सेवा प्रवाह त टाढाको कुरा, वर्ष दिनयता मुख्यमन्त्री र प्रमुख सचिवले पाइलासमेत राखेका छैनन् । यतिसम्मकी कर्मचारी समेत कार्यालयमा छैनन् ।

यो धनकुटास्थित कोशी प्रदेश मुख्य मन्त्रीको सम्पर्क कार्यालय । तत्कालीन प्रदेश १ को राजधानीको माग राख्दै धनकुटामा चलिरहेको आन्दोलन मत्थर पार्न प्रदेश सरकारले २०७६ बैशाखमा धनकुटामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय निक्कै तामझामका साथ स्थापना गरेको थियो ।

कार्यालयको उद्धाटन गर्दै मुख्यमन्त्री शेरधन राईले आवश्यक पूर्वाधार र कर्मचारीको व्यवस्थापन गरेर चार जिल्लालाई प्रदेश सरकारले यही कार्यालयबाट सेवा उपलब्ध गराउने लक्ष्य राखेको थियो ।

विराटनगरसम्म पहुँच नहुने पूर्वी पहाडका चार जिल्लाका आवश्यकता, गुनासो सुन्ने, योजनाको कार्यान्वयन र अनुगमन गर्ने ठूलो लक्ष्यका साथ स्थापना गरिएको सम्पर्क कार्यालयमा अहिले कर्मचारीसमेत छैनन् । राईपछि मुख्यमन्त्री नियूक्त भएका राजेन्द्र राई बाहेक भीमप्रसाद आचार्य, हिक्मत कार्की र उद्धव थापाले यो कार्यालय परिसरमा पाइलो समेत टेकेका छैनन् । कार्यालय पनि सुनसान बनेको छ ।

राजनीतिक र प्रशासनिक नेतृत्वले विकेन्द्रकरणको मर्मलाई आत्मसाथ नगरेको यस क्षेत्रका नागरिकको गुनासो छ । धनकुटाका धेरै नागरिक यो कार्यालय र यसले सम्पादन गर्ने कामका बारे बेखबर छन् । कामै नहुने कार्यालय बन्द गरिनुपर्ने स्थानीयको माग छ ।

कार्यालयको सुरक्षामा ५ जना सुरक्षाकर्मी खटाइएको छ । कर्मचारी जिम्मेवारीविहीन छन् । अहिले कार्यालयले प्रदेश सरकारका लागि आएका निवेदन विराटनगर पठाउने काम गर्दै आएको छ । अहिले यो कार्यालय एक जना कर्मचारीको भरमा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *